पौडेल पक्षले तीन मन्त्री मागेपछि बालुवाटार बैठक भाँडियो – Nepal Press

पौडेल पक्षले तीन मन्त्री मागेपछि बालुवाटार बैठक भाँडियो

काठमाडौं । मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठक भाँडिएको छ ।

बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए । भेटमा सहभागि पौडेल , महामन्त्री डा. शशाकं कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले कम्तीमा ३ मन्त्रालय निश्चित नभए नाम नदिने अडान राखेपछि बैठक भाँडिएको हो ।

‘हामीले मन्त्रिपरिषदमा सम्मानजनक उपस्थितिको कुरा गर्‍यौं । प्रधानमन्त्रीजीले एकलौटी गर्न खोज्नुभएपछि हामीले ३ मन्त्रालय नभए नाम दिन्नौ भनेका छौ’, छलफलमा सहभागि एक नेताले नेपाल प्रेससँग भने ।

मन्त्री छान्न बसेको बैठकमा पौडेल, कोइराला र सिंहले पार्टी कार्यालयमा अनसन बसिरहेका कार्यकर्ताबारे निर्णय लिनपनि देउवाको ध्यानाकर्षण गराएका छन् । दसैँको बेला पार्टी कार्यलयमा अनसन बसेका कार्यकर्ताहरु बिरामी पर्न थालेको भन्दै तीनै नेताले तत्काल समस्या समाधान गर्न माग गरेका थिए ।

जवाफमा देउवाले ‘बिरामी भए अस्पताल लैजाने’ प्रतिक्रिया दिएपछि नेताहरु चेतावनी दिँदै बाहिरिएका हुन् । ‘२४ घण्टाभित्र पार्टी कार्यालयको अनसनबारे निर्णय दिनुहोला भनेका छौ’, भेटमा सहभागि नेताले भने ।

नेतात्रयको चेतावनीपनि सभापति देउवाले क्रियाशील सदस्यता विवादबारे काम गरिरहेको कृष्णप्रसाद सिटौला नेतृत्वको समितिबाटै तत्काल समस्या समाधान गराउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर