पोखरालाई ९ विकेटले हराउँदै चितवन पहिलोपटक ईपीएलको फाइनलमा – Nepal Press

पोखरालाई ९ विकेटले हराउँदै चितवन पहिलोपटक ईपीएलको फाइनलमा

काठमाडौं । क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।

पोखरालाई सस्तैमा समेटेको चितवनले ७.४ ओभरमा एक विकेट गुमाएर ६७ रनको लक्ष्य पूरा गर्‍यो । सुरुआती चार खेलमा जित निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका दुई सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन ।

यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौं खेलमा पराजित भएको थियो ।

यद्यपि, आज भएको क्वालिफायरमा शानदार जित दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए ।

यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरूआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो ।

त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।

यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

आजको खेलमा पराजित पोखराले भने आजै हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा मौका पाउने छ ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स-११ ले पनि बुधबार नै इलिमिनेटरमा भिड्दै छन् । त्यो खेलको विजेताले पोखरासँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *