ईपीएलः पोखरा ६६ रनमा सीमित, सागर र साहबको चार/चार विकेट – Nepal Press

ईपीएलः पोखरा ६६ रनमा सीमित, सागर र साहबको चार/चार विकेट

काठमाडौं । सागर ढकाल र साहब आलमको चार विकेटप्रेरित चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा पोखरा राइनोजलाई ६६ रनमा सीमित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो ।

त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।

यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

पोखरालाई ६६ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६७ रनको लक्ष्य पाएको छ ।

आजको खेलमा जित हासिल गर्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ । यस्तै पराजित टोलीले पनि इलिमिनेटरको विजेतासँग मौका पाउने छ ।

चितवन पहलिो चरणबाट शीर्ष स्थानमा रहँदै क्वालिफायरमा आइपुगेको हो भने पोखरा दोस्रो स्थानबाट आएको हो ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स-११ ले पनि बुधबार नै इलिमिनेटरमा भिड्दै छन् । त्यो खेलको विजेताले पोखरा र चितवनबीचको पराजित टोलीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *