एमालेको विरोधका बीच बुधबार लुम्बिनीमा नयाँ बजेट आउने – Nepal Press

एमालेको विरोधका बीच बुधबार लुम्बिनीमा नयाँ बजेट आउने

रुपन्देही । साउन २८ गते गठन भएको लुम्बिनी प्रदेश सरकारले बुधबार प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको बुधबार बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्ने तयारी गरेका हुन् ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको नेतृत्व गर्दै २८ साउनमा नै बजेट नयाँ आउने जनाएका थिए ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो । ‘अघिल्लो सरकारले ल्याएको बजेटमा आफूहरूको धेरै विषययमा असहमति रहेकाले भोलि बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्ने तयारी गरेका छौं’ उनले भने । अबको बजेट नयाँ योजना र कार्यक्रमसहित आउने खड्काले जानकारी दिए ।

प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु-साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटिने छन् ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले निर्णय गरी कारबाहीका लागि पठाएका दुई सांसदलाई कारबाही नहुँदासम्म आफ्नो विरोध कायम रहने बताए । उनले नयाँ बजेटका विषयमा मंगलबारको कार्यव्यवस्था परामर्श बैठकमा सत्ता पक्षका सांसदले प्रस्ताव राखेपनि आफ्नो असहमति जनाएको र बुधबार ११ बजे मुख्यमन्त्री केसीले छलफलका लागि बोलाएको जानकारी दिए ।

भदौ १ गतेदेखि शुरु भएको संसदको नवौ अधिवेशन एमालेले नियमितरुपमा अवरुद्ध गर्दै आएको छ । एमालेले अवरोधपछि बहिस्कार गरेको समयमा भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद केसीले सदनबाट विश्वासको मत लिएपनि अन्य काम सबै रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर