पाँच नेपाली र दुई बिदेशीसहित सात फिल्म रिलिज लाइनअप घोषणा – Nepal Press

पाँच नेपाली र दुई बिदेशीसहित सात फिल्म रिलिज लाइनअप घोषणा

नयाँ फिल्मलाई रिलिजमा सरकारले सघाउने

काठमाडौं । बिहीवार घटस्थापनादेखि फिल्म हलहरु खुल्ने भएपछि पाँच फिल्म तत्काल प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्डले आज पत्रकार सम्मेलन आयोजना गर्दै पाँच नेपाली र दुई विदेशी फिल्मको लाइनअप घोषणा गरेको छ ।

जसअनुसार २१ गते बिहीवार हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’, असोज २६ गते मंगलबार ‘डाँडाको बरपीपल’, २८ गते बिहीवार महानवमीमा जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज हुनेछन् ।

नेपाली फिल्म ‘डाँडाको बरपीपल’ हलबाट उत्रिएपछि अन्य नेपाली फिल्महरु धन्दागिरी, चोर पुलिस, धुम ४ र चुरीफुरी प्रदर्शन हुने भएका छन् । गठित चलचित्र प्रदर्शन व्यवसायिक समितिले अन्य फिल्म पनि रिलिजका लागि आउने क्रम जारी रहेको जनाएको छ ।

आगामी तीन महीनासम्म प्रदर्शन हुने फिल्मको प्रचारप्रसार, भीपीसी लगायतको खर्च चलचित्र विकास बोर्डले व्योहोर्ने भएको छ । बोर्डले तय गरेको फिल्म प्रदर्शन कार्यविधिमा समेटिने सबै फिल्मले तीन महीनासम्म यस्तो सुविधा पाउने आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

यो अवधिसम्म छायांकनमा जाने फिल्मको पनि डेढलाख सम्म प्रोजेक्ट बीमा हुने जनाइएको छ । साथै, पहिलो साता निर्माताले ५५ प्रतिशत र दोस्रो सातादेखि ५० प्रतिशतसम्म सेयर पाउने भएका छन् ।

कोरोना महामारीको कारण गत बैशाख दोस्रो सातादेखि पुनः लकडाउन भएपछि फिल्म हलहरु बन्द थिए । अध्यक्ष दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन सरकारले अग्रसरता लिएको र औपचारिकरुपमा २० महीनापछि फिल्म हल खुल्ने तयारी भएको बताए ।

चलचित्र संघ महासचिव तथा कार्यदल संयोजक अशोक शर्माले नेपाली फिल्म २०२२ साल अगाडिकै परिस्थितीमा भएकाले फिल्म क्षेत्रलाई चलायमान बनाउन चुनौति भएको बताए । ‘फिल्म राम्रो भए दर्शक हलसम्म आउँछन् भन्ने हाम्रो विश्वास छ’ शर्माले भने, ‘घटस्थापना महत्वपूर्ण दिन पनि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर