काँक्रेबिहारको ६ हेक्टर वन क्षेत्र मासिँदै, वन डिभिजन प्रमुख र वडाअध्यक्ष मिलेको आरोप – Nepal Press

काँक्रेबिहारको ६ हेक्टर वन क्षेत्र मासिँदै, वन डिभिजन प्रमुख र वडाअध्यक्ष मिलेको आरोप

सुर्खेत । डिभिजन वन प्रमुख गोविन्दप्रसाद दाहाल र वीरेन्द्रनगर नगरपालिका– ९ का वडाअध्यक्ष सुरेश मानन्धरको मिलेमतोमा सुर्खेतको काँक्रेबिहान वन क्षेत्र मास्न खोजेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार जग्गा व्यवसायीका लागि अनुकुल हुने गरी डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेबिहार संरक्षित वन क्षेत्रको ६ हेक्टर वन मास्न लागिएको हो ।

काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल निर्माण गर्न थालेपछि स्थानीयस्तरमा आलोचना हुन थालेको छ ।

सो क्षेत्रमा पक्की पर्खाल लगाउनका लागि महादेव खिम्ती हिराचन (केएसके) ज्वइन्ट भेन्चर कम्पनीसँग डिभिजन वन कार्यालयले सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार कम्पनीले ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का पाएको हो ।

सो सीमा क्षेत्रमा निर्माणाधीन पर्खालभन्दा बाहिर ५–७ मिटर वनको जग्गा छोडेर भित्र पर्खाल लगाइएको निर्माण कम्पनीका फिल्ड प्राविधिक महेन्द्रप्रसाद शर्माले जानकारी दिए । उनले डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोविन्द प्रसाद दाहाल र वडाअध्यक्षको निर्देशनमा काँक्रेबिहार वन क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइएको बताए ।

‘पर्खालभन्दा बाहिर जग्गा छोड्न डिभिजन वन कार्यालयका प्रमुख र वडाअध्यक्षले निर्देशन दिएका हुन् । सोहीअनुसार हामीले काम गरिरहेका छौं’, उनी भन्छन् ।

सुर्खेतको काँक्रेबिहार संरक्षित वन क्षेत्र नेपालको पहिलो संरक्षित वन हो । २०५९ साल वैशाख ३० गते नेपाल सरकारद्वारा संरक्षित वन क्षेत्र घोषणा भएको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणलेसमेत महत्वपूर्ण छ ।

डिभिजन वन कार्यालयल सुर्खेतले काँक्रेबिहार वन क्षेत्रको सीमा र निजी व्यक्तिहरुको नाममा दर्ता भएका जग्गाको सीमा छुट्याउने गरी पर्खाल निर्माण गर्न थालिसकेको छ ।

यसअघि कम्पाउण्ड वाल निर्माण नहुँदा काँक्रेबिहार क्षेत्र भित्रको रिङरोड (जंगल वरिपरिको बाटो)लाई देखाएर जग्गा व्यवसायीले प्लटिङ गरी जग्गा किनबेच गराइसकेका छन् ।

पर्खालको सुरक्षाका लागि सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाइएको डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख दाहालले जानकारी दिए । ‘पर्खाल लगाउँदा सेड व्याकका लागि जग्गा छोडिएको हो’, उनले भने ।

वडाअध्यक्ष मानन्धरले आफूहरु वन क्षेत्रको जग्गा मास्न नदिनेमा प्रतिबद्ध भएको बताउँछन् । ‘यो क्षेत्रलाई जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । सरकारी वन क्षेत्रको जग्गालाई कुनै हालतमा मासिन दिइँदैन । प्राविधिकहरुले सुरक्षाको दृष्टिले सेट ब्याक पर्खाल लगाउन भनेपछि हामी तयार भएका हौं । यसमा मेरो कुनै मिलेमतो छैन’, उनले भने, ‘तर पाँच मिटर जग्गा भित्र पर्खाल लगाउन सुरु गरिएको हो । त्यो वन क्षेत्रको सुरक्षाका लागि नै हो ।’

उनले विगतमा पोल गाडेर राखिएको स्थानबाट नै वनको सिमाना कायम हुने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *