९ वर्षदेखि भाडा नबढेपछि यातायात व्यवसायी आन्दोलनमा, मुख्यमन्त्री भन्छिन्- अध्ययन हुुँदैछ – Nepal Press

९ वर्षदेखि भाडा नबढेपछि यातायात व्यवसायी आन्दोलनमा, मुख्यमन्त्री भन्छिन्- अध्ययन हुुँदैछ

काठमाडौं । यातायात व्यवसायीले पछिल्लो समय विभिन्न बहानामा निरन्तर आन्दोलन गर्दै आएका छन् । साेमबार सार्वजनिक यातायात केन्द्रीय महासंघले चक्रपथमा बस र ट्याक्सी लगायतका ११ सयवटा सवारी साधन ठप्प बनायो ।

सरकारले ३ महिना पहिले अन्तर प्रदेशको भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो भने प्रदेशभित्र गुड्ने सवारी साधनमा पुरानै भाडादर यथावत राखेको थियो । केही दिनअगाडि यातायात व्यवसायीले आफुखुसी भाडा वृद्धि गरेपछि ट्राफिक प्रहरीले दुख दिएको भन्दै महासंघले सडकमा सवारी राखेर प्रदर्शन गरेको हो ।

२०६९ सालदेखि सार्वजनिक भाडादर समायोजन भएको छैन । पेट्रोलियम पदार्थ र गाडीको पार्ट्सको मूल्य २०६९ सालपछि धेरै वृद्धि भएको तर भाडा भने नबढेको भन्दै व्यवसायीले आन्दोलन सुरु गरेका हुन् ।

महासंघका महासचिव भरत नेपालले सरकारले देशमा दुईथरिको भाडादर कायम गरेकोले महासंघ आन्दोलनमा जानुपरेको बताए ।

नेपालले भने, ‘२०६९ सालदेखि कुन वस्तुको मूल्य बढेको छैन ? सबैको मूल्यवृद्धि हुँदा पनि यातायात भाडा पुरानै छ ।’

सरकारले माग सम्बोधन नगरेमा महासंघसँग जोडिएका ३ लाख ५० हजार सवारीसाधन दसैंको समयमा नै ठप्प पार्ने उनले चेतावनी दिए ।

‘यात्रुलाई दसैंमा गाउँ जान समस्या हुन्छ भनेर सरकारले नै बुझनु पर्ने हो,’ उनले भने ।

मुख्यमन्त्री भन्छिन्ः अध्ययन हुँदैछ

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि यातायात व्यवासयीले भाडा समायोजनको विषयमा छलफल गरेका थिए । मुख्यमन्त्रीले पनि अध्ययन गरेर अगाडि बढ्ने बताएको व्यवसायीहरु बताउँछन् ।

नेपालका अनुसार आजको आन्दोलनमा मुख्यमन्त्री शाक्य नै एक घन्टा जाममा परेकी थिइन् । शाक्यले भने थोरै समय बल्खुको सडक जाममा परेको नेपाल प्रेससँग बताइन् ।

व्यवसायीले दसैंमा भाडा वृद्धि नभए आन्दोलन गर्ने कुरा उठाइरहेका छन्, यसलाई कसरी सामाधान गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा शाक्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले भाडा समायोजनको विषयमा अध्ययन गरिरहेको जवाफ दिइन् ।

उनले भनिन्, ‘व्यवसायीले समस्या पर्‍याे भनेर गुनासो गरिरहनु भएको छ । दुई प्रकारको भाडादर लागू भएकाले प्रदेशमा सवारीसाधन सञ्चालन नै गर्न नसक्ने अवस्था आयो भनेर व्यवसायीले भनेका छन् । हामीले यात्रु र व्यवसायी दुवैलाई राम्रो हुने हिसावले अध्ययन गरिरहेका छौं । केही दिनमा नै भौतिक पूर्वधार विकास मन्त्रालयले निचोड निकाल्छ ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले प्रदेशको भाडा समायोजनको काम प्रदेश सरकारले नै गर्नपर्ने भएकाले केन्द्र सरकार र यातायात व्यवस्था विभागले केही गर्न नसक्ने बताए ।

व्यवसायीले यसभन्दा पहिले पनि पटक–पटक भाडा समायोजन गर्न माग गरेका थिए । यसपटक भने दसैंकै बेला गाडी नै सडकमा निर्णायक दवाव दिन खाजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *