साफ च्याम्पियनसिपः १० जनामा सीमित बंगलादेशसँग बराबरीमा रोकियो भारत – Nepal Press

साफ च्याम्पियनसिपः १० जनामा सीमित बंगलादेशसँग बराबरीमा रोकियो भारत

काठमाडौं । करिब आधा समय १० जनामा सीमित भएको बंगलादेशविरुद्धको अग्रता जोगाउन नसेको भारत साफ च्याम्पियनसिपमा १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार माल्दिभ्सको मालेमा भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता भारतले सुरुआतमा अग्रता लिएको थियो ।

खेलको २६औं मिनेटमा भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । बल पोसेसनसँगै खेलमा पनि हाबी बनेको भारतले पहिलो हाफमा १–० को अग्रता कायम राखेको थियो ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयत्नरत बंगलादेशलाई सुरुआतमै ठूलो धक्का लागेको थियो । विश्वनाथ घोशले ५४औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि बंगलादेशको खेलमा फर्किने सम्भावना करिब करिब टुङ्गिएको मानिएको थियो ।

तर, निर्धारित समयको खेल सकिन १६ मिनेट बाँकी रहँदा अप्रत्याशितरूपमा बंगलादेशले पुनरागमन गर्यो । बंगलादेशका लागि ७४औं मिनेटमा यासिन अराफतले गरेको गोल नै भारतविरुद्ध गुमाइसकेको अंक खोस्न पर्याप्त बन्यो ।

शुक्रबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० को नतिजामा पराजित गरेको थियो । साविक उपविजेता भारतसँगको बराबरीसँगै बंगलादेशले दुई खेलबाट चार अंक जोडेको छ । भारतले भने यो पहिलो खेल हो ।

प्रतियोगिताको सदाबहार दाबेदार रहेर पनि फाइनल पुग्न असफल नेपालले पनि आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध १–० को सनसनीपूर्ण जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको छ ।

शुक्रबार नै भएको खेलमा नेपाललाई जित दिलाउन एक मात्र निर्णायक गोल मनिष डाँगीले गरेका थिए । नेपालले आफ्नो दोस्रो खेलमा आजराति ९ः ४५ बजे श्रीलंकासँग खेल्दै छ ।

पाँच टोली सहभागी प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर