ईपीएलः वर्षाले प्रभावित खेलमा पोखरासँग १४ रनले हार्‍यो काठमाडौं – Nepal Press

ईपीएलः वर्षाले प्रभावित खेलमा पोखरासँग १४ रनले हार्‍यो काठमाडौं

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार भएको दोस्रो खेलमा पोखरा राइनोजसँग डकवर्थ लेविस (डीएल) नियममा १४ रनले पराजित भएसँगै काठमाडौं किङ्ग्स-११ प्लेअफमा पुग्नबाट रोकिएको छ । यद्यपि, भोलि भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा जित निकाल्न सके काठमाडौं शीर्ष चारमा पुग्नेछ ।

दोस्रो इनिङको १५ ओभर सकिँदा काठमाडौंले ५ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । डीएल नियमअनुसार पोखरालाई १५ ओभरमा १ सय २८ रनको लक्ष्य हुन आउँथ्यो । तर, पोखराले १५ ओभरको खेल सकिँदा १४ रन धेरै बनाइसकेकाले नतिजामा पोखराको पक्षमा पर्‍यो ।

वर्षाका कारण खेल अवरुद्ध हुँदा पोखराका विवेक यादव ४१ तथा लोकेश बम १८ रनमा अविजित थिए । त्यसअघि सहान अराचिगे ४३ तथा रिचार्ड लेभी १७ रन बनाएर पेभेलियन फर्किँदा रित गौतम, कप्तान विनोद भण्डारी र असेला गुणारत्ने पाँच रन पार गर्न नसक्दै आउट भएका थिए ।

काठमाडौंका लागि जितेन्द्र मुखिया र गुल्शन झाले २/२ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।

यसअघि रायन बर्ल र अमित श्रेष्ठको अर्धशतक मद्दतमा काठमाडौं किङ्ग्स-११ ले २० ओभरमा पोखरकालाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । खराब सुरुआत गरेको काठमाडौंले इनिङमा राम्रो पुनरागमन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गरेको थियो ।

पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरेको काठमाडौं किङ्ग्स-११ का लागि रायन बर्ल र अमित श्रेष्ठले अर्धशतकीय इनिङ खेलेका थिए ।

त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा काठमाडौंका लागि क्रिजमा उत्रिएका बर्लले ४३ बलमा २ चौका र ३ छक्कासहित ५० रनको इनिङ खेलेका थिए । त्यस्तै, अमितले ४१ बलमा ६ चौका र २ छक्कासहित ५६ रन जोडेका थिए । तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग १०६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका थिए ।

काठमाडौंका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कप्तान सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रन जोडेर पेभेलियन फर्केका थिए । यस्तै, गुल्शन झा १ रनमा अविजित रहँदा राजु रिजाल शून्यमा पेभेलियन फर्के ।

पोखराका लागि विवेक यादवले ३ तथा विक्रम शोब, किशोर महतो, नन्दन यादव र सहान अराचिगे ले १/१ विकेट लिएका थिए ।

काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने थियो । तर, वर्षाले खेल पूरा हुन नसकेपछि काठमाडौं दुर्भाग्यशाली सावित भयो । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् ।

आजको खेलमा काठमाडौं पराजित भएसँगै साविक विजेता ललितपुरको प्लेअफ पुग्ने सम्भावना जिवितै रहेको छ । भोलि हुने तय भएको खेलमा काठमाडौं पराजित भयो भने पनि ललितपुर प्लेअफमा पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *