ईपीएल : चितवनको अपराजित यात्रामा पूर्णविराम, प्रदीपको अर्धशतकमा भैरहवा ६ विकेटले विजयी – Nepal Press

ईपीएल : चितवनको अपराजित यात्रामा पूर्णविराम, प्रदीपको अर्धशतकमा भैरहवा ६ विकेटले विजयी

काठमाडौं । प्रदीप ऐरीको अर्धशतकप्रेरित भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १ सय ६५ रनको लक्ष्य पछ्याएको भैरहवाले १७।२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । भैरहवालाई ६ विकेटको जित दिलाउन आक्रामक इनिङ खेलेका ओपनर प्रदीपले ४३ बलमा ८ चौका र ३ छक्कासहित ७२ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर तमिक इकबलले ३० बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडेर पेभेलियन फर्किँदा उपुल थरङ्गा ३९ र कुशल मल्ल १ रनमा अविजित रहे । त्यसअघि रोहित पौडेल ६ तथा आरिफ शेख १ रन जोडेर पेभेलियन फर्केका थिए ।

बलिङतर्फ चितवनका लागि करिम जनतले २ तथा सागर ढकाल र भीम सार्कीले १–१ विकेट लिए ।

पहिलो इनिङमा चितवनले ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो ।

दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवनले नियमित कप्तान सोमपाल कामी, विरन्दीपसिंह र साहब आलमको स्थानमा गौमत केसी, सेकुगे प्रसन्ना र देव खनाललाई मौका दिएको थियो । चितवनका लागि ओपनिङमा उत्रिएका मोहम्मद शहजादले करिम जनतसँग ४२ रनको साझेदारी गर्दै २४ बलमा ३ चौका र २ छक्कासहित ३२ रनको योगदान गरे ।

यस्तै, करिमले ३७ बलमा १ चौका र २ छक्कासहित ३५ तथा सेकुगे प्रसन्नाले २४ र दीलिप नाथ १३ रन जोडेर पेभेलियन फर्किँदा कमलसिंह ऐरी ७ र गोतम केसी शून्यमा अविजित रहे। त्यसअघि भीम सार्की १४, देव खनाल ५ र ओपनर खडक बोहरा १ रनमा पेभेलियन फर्केका थिए ।

बलिङतर्फ भैरहवाका लागि कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर तीन विकेट लिए । यस्तै, धमिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १÷१ विकेट लिए ।

दुवै टोली प्ले अफमा पुगिसकेका छन् । सुरुआती चार खेलमा जित निकालेको चितवनको ८ अंक छ । र शीर्ष स्थानमा छ भने तीन खेलमा ६ अंक जोडेको भैरहवा तेस्रो स्थानमा छ । दोस्रो स्थानको पोखरा राइनोज पनि प्ले अफमा पुगिसकेको छ ।

प्ले अफमा लागि एक स्थान पूरा हुन बाँकी छ भने काठमाडौं किङ्ग्स–११ र साविक विजेता ललितपुर प्याट्रिओट्सको सम्भावना बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर