जनकपुर बमकाण्डः जिल्लाको फैसला उच्च अदालतले उल्ट्यायो, ‘टकला’लाई राहत – Nepal Press

जनकपुर बमकाण्डः जिल्लाको फैसला उच्च अदालतले उल्ट्यायो, ‘टकला’लाई राहत

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा भएको बमकाण्डमा पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई राहत मिलेको छ । ९ वर्ष अगाडिको बम काण्डमा साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर आइतबार अबेर राति उच्च अदालत जनकपुरले फैसला पुनरावलोकन गरी सजाय घटाएर ७ वर्षमा झारिदिएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले यो फैसला गरेको हो । फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ । जिल्ला अदालतले साहलाई मुख्य अभियुक्त ठहर गरेको थियो ।

साह हाल काठमाडौंको नख्खु कारागारमा छन् । उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुबै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेशी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सदभावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।

२०६९ वैशाख १८ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।

 


प्रतिक्रिया

One thought on “जनकपुर बमकाण्डः जिल्लाको फैसला उच्च अदालतले उल्ट्यायो, ‘टकला’लाई राहत

  1. मिथीला राज्य माग्ने तर मैथिली कलाकार मार्ने अपराधीलाई छुट दिन मिल्छ त ? नेपालमा चाउचाउ, रक्सी, मासु संगै भाेट, कानुन, न्याय, फैसला सबै कुरा बिक्री हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर