बादललाई व्यंग्य गर्दै प्रचण्डले भने : विधान महाधिवेशनको जिम्मा रे, सुन्दै अनौठो ! (भिडिओ) – Nepal Press

बादललाई व्यंग्य गर्दै प्रचण्डले भने : विधान महाधिवेशनको जिम्मा रे, सुन्दै अनौठो ! (भिडिओ)

‘हाम्रा लडाकु साथीहरुमाथि एमालेबाट भौतिक आक्रमणको तयारी छ’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई एमालेले विधान अधिवेशनको जिम्मेवारी दिएकोमा आश्चर्य व्यक्त गरेका छन् । माओवादी ढाल्नका लागि एमालेले बादललाई अघि सारेको उनले टिप्पणी गरे ।

माओवादीको प्रदेश सम्पर्क समितिको भेलालाई सम्वोधन गर्दै प्रचण्डले माओवादी नेतृत्व पंक्तिमा आत्मसमिक्षा आवश्यक भएको बताएका थिए । कार्यकर्ता ठीक ठाउँमा भए पनि नेताहरु बिग्रिएकाले जनता निराश भएको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘जनताहरु माओवादी क्रान्तिकारी किन बिग्रिए भन्दैछन् । तपाईं कार्यकर्ता ठीक ठाउँमा हुनुहुन्छ, तर नेताहरु बिग्रिए । जो धेरै मन्त्री भयो, उही धेरै बिग्रियो । त्यसैले मन्त्री बनाउने काममा जाँगर लाग्न छोड्या छ ।’

उनले थपे, ‘जसलाई धेरै मन्त्री बनायो त्यसले नै धोका दिन्छ । तपाईंहरुले हेर्नुभयो नि, लेखराज, टोपबहादु्र, बादल कताकता गएकालाई ल्याएर सबैभन्दा ठूलो बनाइदिएको त उता गएर हामीले दिएको लाइसेन्स विक्री गरे । बिधान अधिवेशनको जिम्मा रे, के भन्ने । सुन्दै अनौठो लाग्छ ।’

‘तर, यो अनौठो होइन कामरेडहरु । मैले भन्न खोजेको अर्कै कुरा छ,’ प्रचण्डले अगाडि भने, ‘त्यो कुरा के हो भने प्रतिक्रियावादीहरु पहिलो, दोस्रो विघटनमा असफल त भए । कस्तो क्याल्कुलेटिभ छन् क्या प्रतिक्रियावादीहरु । अहिले ओली एक्लै केही हाइनन् । संसारभरका प्रतिक्रियावादीले ओलीमाथि बुद्धि लगाएका छन् । ओलीको पछाडि कमल थापाहरु, ज्ञानेन्द्रहरु, विदेशीहरु यी सबै डल्लै छन् । उनीहरुले माओवादीलाई धेरै चलाउनु हुन्न फेरि जाग्न सक्छ भनेका छन् । त्यसैले माआवादीलाई होइन प्रचण्डलाई मात्रै हान्ने रणनीति छ । प्रचण्डलाई ट्याक्कै ढलाएपछि माओवादी आन्दोलन ढल्छ भन्ने हिजोको प्रतिवेदनमा पनि भनिएको छ । तपाईंहरुलाई इमान्दार भन्न थाल्या छन् । फटाहा प्रचण्ड मात्रै हो भन्ने ग¥या छन् । केपी ओलीले लेख्ने, अनि अगाडि सार्ने बादललाई । हिजोको साथीले भनेपछि हो किन्ने भन्याजस्तो । भ्रम दिनलाई हो नि ।’

प्रचण्डले आफ्नो पार्टीका लडाकु कार्यकर्तामाथि एमालेबाट आक्रामणको तयारी भइरहेको दावी गरे । भौतिक आक्रमणबाट बच्नका लागि समूहमा हिँड्न उनले सल्लाह दिए ।

‘हाम्रा केही लडाकु, शरीर सुगठित बनाएका साथीहरुलाई आक्रमण गर्ने तयारी गर्दैछन् है, ध्यान दिनुहोला । कुरा गहिरो छ । एक्सरसाइज गर्ने र हिजो सेनामा भएकाहरु अझै सतर्क हुनुहोला । टिमसहित हिँडनुहोला,’ प्रचण्डले भने ।

 


प्रतिक्रिया

One thought on “बादललाई व्यंग्य गर्दै प्रचण्डले भने : विधान महाधिवेशनको जिम्मा रे, सुन्दै अनौठो ! (भिडिओ)

  1. थुइक्क प्रचण्ड,हिजो राज्यको बन्दुकसङ्ग लडेको मावबादी आज एमालेको छाँयासङ्ग भयभित?हिजो नागा हुँदा जनतालाई भड्काएर सम्पती कमायौ,त्यसको व्यवस्थापन र आफ्नो अपराधबाट वचन नाटक मन्चन गर्दैछस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर