हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो एनभीए क्लब भलिबल च्याम्पियन – Nepal Press

हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो एनभीए क्लब भलिबल च्याम्पियन

काठमाडौं । टिप–टप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलको पहिलो सेटमा २६-२४ को रोमाञ्चक जित निकालेको आर्मी दोस्रो सेटमा १७-२५ ले पराजित भएको थियो ।

तेस्रो सेटमा सुरुआतदेखि नै अग्रता बनाएको आर्मीले २५-१८ को जित निकालेको थियो । निर्णायक बनेको चौथो सेट ३३-३१ ले जित्दै आर्मी रोमाञ्चक रूपमा च्याम्पियन बन्यो ।

विभागीय टोली आर्मी सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै, हेल्प नेपालले पनि विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

सुरुआतदेखि नै उपाधि दाबेदार मानिएको हेल्प नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको आर्मीले उपाधिसहित ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने हेल्प नेपालले २ लाख र तेस्रो नेपाल पुलिस क्लबले १ लाख रूपैयाँ प्राप्त गरेको छ ।

महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा विभागीय महारथी एपीएफलाई ३-१ सेटको नतिजामा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो । यस्तै, एपीएफ उपविजेता बन्दा आर्मी तेस्रो भयो । महिलातर्फ पनि विजेताले ४, उपविजेताले २ र तेस्रो हुनेले १ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

महिला-पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले २५/२५ तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर