सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार – Nepal Press

सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ संगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए ।

२०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छने भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन् । विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजक समेत भएका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्याएका छन् ।

२०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश नं. ५ (हाल लुम्बिनी) प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने २०७४ फागुन २ गते उनी ५ नं. प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *