ईपीएल : पोखरासँग पराजित विराटनगर पहिलो चरणबाटै बाहिरियो – Nepal Press

ईपीएल : पोखरासँग पराजित विराटनगर पहिलो चरणबाटै बाहिरियो

काठमाडौं । पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को लिग चरणबाटै बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताका सुरुआती चार खेल हारेसँगै विराटनगरको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ ।

शनिबारको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर वारियर्सले पोखरा राइनोजसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको पोखराले १७.४ ‌ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पोखराका लागि असेला गुणारत्नेले अविजित अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका असेलाले २४ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन जोडेर पेभेलियन फर्किँदा सहान अराचिगेले ३६ बलमा ४ चौका र १ छक्कासहित ४३ रन जोडेका थिए ।

यस्तै कप्तान विनोद भण्डारी १५ मा अविजित रहँदा रित गौतम ५ रनमा पेभेलियन फर्केका थिए । विराटनगरका लागि प्रतिस जिसी, सिकन्दर राजा र हरी चौहानले १ र १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार गरेको थियो ।

विराटनगरका लागि आशिफ शेखले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाउँदा सन्दीप रजाली २८ र कप्तान करण केसी २४ बलमा अविजित रहे । यस्तै, शिकन्दर राजा २९ रनमा पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पोखरका लागि बिक्रम शोबले २ तथा नन्दन यादव, विवेक यादव र सहान अराचिगेले समान १र१ विकेट लिएका थिए ।

जितसँगै पोखरा प्लेअफ नजिक पुगेको छ । चार खेलमा ५ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने शीर्ष स्थानको चितवन टाइगर्स ३ खेलमा ६ अंक जोडेर प्ले अफमा पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर