फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु) – Nepal Press

फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु)

पोखरा । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ ।

डब्लूएचओका नेपाल प्रमुख डा. राजेश समबाजीराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादीसम्मको करिब दुई किलोमिटर फुटट्र्याकमा हिँड्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । डब्लूएचओका नेपाल प्रमुख डा. पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

उनले विश्वभरि नै कोभिड–१९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उल्लेख गर्दै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए ।

सोही क्रममा पाण्डवले पोखरा पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । उनले भने, ‘पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दा रहेछन् ।

‘ ‘वाक द टक’ कार्यक्रमले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

डब्लूएचओको ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु गरिएको हो । उक्त अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लूएचओको नेपालस्थित सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिकरुपमा स्वास्थ्यमा काम गर्ने डब्लूएचओका प्रतिनिधिसँगको रिभ्यू कार्यशाला चलिरहेको छ । सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिसहितको टोलीले फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको हो ।

व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने उनले बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देश दिन फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको भनाइ थियो ।

पदयात्रा अघि कार्यक्रममा सहभागीले फेवा किनारमा योग ध्यानसमेत गरेका थिए । डब्लुएचओका प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र, सङ्घसंस्था र प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर