अल्मुताइरीको रणनीति, किरणको आत्मविश्वास र मनिषकाे फिनिसिङमा मिलेको सफलता – Nepal Press
साफ च्याम्पियनसीप

अल्मुताइरीको रणनीति, किरणको आत्मविश्वास र मनिषकाे फिनिसिङमा मिलेको सफलता

माले । घरेलु माल्दिभ्सविरूद्ध साफ च्याम्पियनसीपको पहिलो खेल खेल्नुपूर्व डेढ घण्टाअघि राजधानी मालेको एक मात्र राष्ट्रिय रंगशालामा आइपुगेको नेपाली टोलीले पहिले मैदानको निरीक्षण गर्यो । ‘चेञ्जिङ रुम’ मा नेपाली खेलाडी शान्त देखिन्थे भने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफ्नो योजना बुन्न तल्लीन थिए ।

मन्द पानी परिरहेका कारण ओसिलो बनेको मैदानको निरीक्षण गरेर फर्किने क्रममा कप्तान किरण चेम्जोङ आफ्ना सहकर्मीलाई भन्दै थिए, ‘मैदान हिलो हुँदैन । बल अलिकति चिप्लिन्छ है ! अरु सबै ठिकै छ ।’

मालेमा उनको आत्मविश्वास गजबको देखिन्थ्यो । सायद तीन वर्षअघि यहाँको प्रतिष्ठित क्लब टिसी स्पोर्ट्सको नम्बर–१ गोलकिपरको उपाधि जितेका कारण पनि उनी निर्धक्क देखिएका हुन सक्छन् ।

विश्वभर कोरोनाको महामारी फैलिनुभन्दा एक वर्षअघि सन् २०१८ मा किरण माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा आवद्ध थिए । यतिबेला क्लबले लिग उपाधि जितेको मात्र थिएन, किरण माल्दिभ्सका फुटबल समर्थकमाझ लोकप्रीय बन्न पुगेका थिए । उनको यहीं लोकप्रियता शुक्रबार राति मैदानमा प्रष्ट झल्कियो ।

नेपाली समर्थक मात्र होइन, टिसी स्पोटर््स क्लबका समर्थक पनि किरणको लागि नेपाली टोलीलाई समर्थन गर्ने कि माल्दिभ्सलाई ? भन्ने द्विविधामा देखिन्थे । उनीहरू किरणले बल जोगाएको बेला ‘चियर’ गर्थे भने बाँकी समय माल्दिभ्सका खेलाडीहरूका लागि ।

किरण भर्सेस असफाक

शुक्रबार स्थानीय समयअनुसार राति ९ बजेर ४५ मिनेटमा भएको खेलको २–३ वटा विशेषता रह्यो । पहिलो विशेषता त किरण र अली असफाकबीचको प्रतिद्वन्द्वीता नै देखियो । सन् २००५ देखि अनवरत साफ च्याम्पियनसीपमा सहभागी हुँदै आएका दक्षिण एसियाकै सबैभन्दा अनुभवी स्ट्राइकर असफाक नेपालविरूद्धको खेलमा पनि मुख्य आकर्षण थिए । यसअघिका खेलमा नेपाललाई पराजित गर्न असफाकको विशेष हात रहने गर्दथ्यो ।

सन् २०१८ मा माल्दिभ्सको लिग च्याम्पियन क्लब टिसी स्पोर्ट्समा आवद्ध भएपछि किरण र असफाकबीच राम्रो समझदारी बनेको थियो । किरण त्यतिबेलैदेखि विपक्षी खेलाडीलाई छेकेर खेल्ने तथा बल ‘स्वीच’ गर्न माहिर असफाकको खेलबाट परिचित भएका थिए । जुन किरणका लागि शुक्रबारको खेलमा उनलाई रोक्न सहयोगी सावित भयो ।

सन् २०१९ मा टिजी स्पोर्टसमा आवद्ध मिडफिल्डर असिम इब्राहिम पनि नेपालविरूद्धको खेलमा ‘डेन्जर’ देखिन्थे । समग्रमा भन्नुपर्दा अग्रपंक्तिमा असफाक, हप्पु र इब्राहिमको खतरनाक मुभले पहिलो हाफमा नेपाली टोली हल्लिन पुगेको थियो । तर, नेपाली डिफेन्डरले आफ्नो ‘वाल’ भत्किन् दिएनन् ।

शुक्रबार राति असफाकले ‘स्पट किक’ र डिबक्स नजिकै बल ‘टच’ गर्दा आफ्ना डिफेन्डरलाई ‘स्पेस’ नदिन किरण चिच्याइरहेका देखिन्थे । असफाक दक्षिण एसियाकै एक खतरनाक स्ट्राइकर मानिन्छन् । साफ च्याम्पियनसिपमा सबैभन्दा बढी २० गोल गरिसकेका छन् उनले । सन् २०१३ मा काठमाडौंको दशरथ रंगशालामा सम्पन्न साफ च्याम्पियनसीपमा उनले श्रीलंकाविरूद्ध ‘डबल ह्याट्रिक’ गर्दै एउटै खेलमा ५ गोल गर्ने अर्जेन्टिनाका लिओनल मेसीको कीर्तिमान भंग गरेका थिए ।

असफाकसँगै माल्दिभ्सले नेपालसँगको पहिलो खेलमा दुई प्रभावशाली स्ट्राइकरलाई मैदानमा उतारेको थियो । तीमध्ये एक थिए, १० नम्बर जर्सीधारी हम्जा मोहम्मद । ‘हम्पु’ को उपनामले परिचित हम्जा हालको लिग च्याम्पियन माजिया क्लबका खतरनाक स्ट्राइकर मानिन्छन् । शुक्रबार उनको खुट्टामा बल पर्दा माल्दिभ्स समर्थकको पारा चढेको देखिन्थ्यो ।

यस्तै, सन् २०१९ मा टिजी स्पोर्टसमा आवद्ध मिडफिल्डर असिम इब्राहिम पनि नेपालविरूद्धको खेलमा ‘डेन्जर’ देखिन्थे । समग्रमा भन्नुपर्दा अग्रपंक्तिमा असफाक, हप्पु र इब्राहिमको खतरनाक मुभले पहिलो हाफमा नेपाली टोली हल्लिन पुगेको थियो । तर, नेपाली डिफेन्डरले आफ्नो ‘वाल’ भत्किन् दिएनन् ।

पहिलो हाफमा नेपाली डिफेन्डरले बनाएको पर्खाल भत्काउन नसकेपछि दोस्रो हाफमा माल्दिभ्सले लेफ्ट विङबाट ‘ओभरल्याप’ मा आउने २२ वर्षे युवा डिफेन्डर हैसम हसनमार्फत थुप्रै प्रयास गरेको थियो । तर, ती सबै प्रयासलाई किरणले निस्तेज पारे ।

दोस्रो हाफमा किरणले माल्दिभ्सका दुई खतरनाक प्रहारलाई निस्तेज नपारेको भए शुक्रबारको खेलको ‘स्क्रिप्ट’ अर्कै हुनेथियो । उनी एकपल्ट असफाकको २५ यार्ड नजिकको ‘स्पट किक’ लाई राम्रोसँग नछेकोको भन्दै डिफेन्डरसँग झोक्किएका पनि थिए ।

नेपालले रचेको इतिहास

वास्तवमा शुक्रबारको खेल नेपालका लागि धेरै अर्थमा महत्वपूर्ण थियो । साफ च्याम्पियनसीपमा अहिलेसम्म माल्दिभ्सलाई नहराएको इतिहासबीच प्रतियोगिताको सुरुवात, त्यो पनि माल्दिभ्ससँग उसैको घरेलु मैदानमा गर्दै थियो ।

सन् १९९७ मा नेपालबाटै साफ च्याम्पियनसीपमा पाइला टेकेको माल्दिभ्सविरूद्ध यसअघि नेपालको सबैभन्दा राम्रो नतिजा भनेको नै बराबरी थियो । नेपालले सन् २००९ र २०११ मा दुईपल्ट मात्र माल्दिभ्सलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

त्यसयता सन् १९९९ मा दुईपल्ट (लिगमा २–३, तेस्रो स्थान ०–२), २००३ मा समूह चरणको खेलमा २–३, २००८ मा समूह चरणको खेलमा १–४ र २०१८ मा सेमिफाइनलमा ०–३ ले पराजित भएको नमिठो इतिहाससँग साक्षात्कार भएको थियो ।

सन् १९९७ मा नेपालबाटै साफ च्याम्पियनसीपमा पाइला टेकेको माल्दिभ्सविरूद्ध यसअघि नेपालको सबैभन्दा राम्रो नतिजा भनेको नै बराबरी थियो । नेपालले सन् २००९ र २०११ मा दुईपल्ट मात्र माल्दिभ्सलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

विगतभन्दा शुक्रबार नेपालको खेलमा दुईवटा फरक विशेषता देखियो । यसअघिको खेलमा नेपाली खेलाडी ‘काउन्टर अट्याक’ मा जाँदा डिफेन्स ‘लाइन–अप’ खुकुलो हुन पुग्थ्यो । तर, शुक्रबार कप्तान तथा गोलकिपर किरणले आफ्ना समकक्षीलाई ‘डिफेन्सिभ लाइन’ भत्किन नदिन तलै बाँधेर राखे । नेपाली खेलाडीले माल्दिभ्सको बल ‘सप्लाइ–लाइन’ मानिने टिजी स्पोटर््स क्लबका २४ वर्षीय प्रभावशाली मिडफिल्डर असिम इब्राहिमलाई दोस्रो हाफपछि खुलेर खेल्न दिएनन् । असफाक र हप्पु विशेषत नेपाली डिफेन्डरको निगरानीमा रहे ।

नेपालविरूद्धको खेलमा प्रायः ‘काउन्टर अट्याक’मार्फत गोल गर्ने गरेको माल्दिभ्स विगतको आफ्नो खेल रणनीतिको ठिक उल्टो, सुरुदेखि नै आक्रामक देखियो । नेपालले भने उनीहरूको विगतको रणनीतिलाई पछ्याउँदै ‘काउन्टर अट्याक’लाई आफ्नो दरिलो हतियार बनायो । यसैको नतिजा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई नेपालले उसैको घरेलु मैदानमा मात दियो ।

मनिषको फिनिसिङ

पछिल्लो केही समयदेखि मनिष डाँगीलाई आफ्नो प्रमुख हतियारको रूपमा प्रयोग गर्दै आएका छन् कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले । शुक्रबार अल्मुताइरीले ८० मिनेटपछि मात्रै उनलाई मैदानमा उतारे ।

‘स्पीड’मा बल काट्न माहिर मानिने डाँगीले आफूमाथि प्रशिक्षकले देखाएको विश्वासलाई माले रंगशालामा प्रमाणित गरे । डिबक्स बाहिर भेटेको बलमा माल्दिभ्सका तीन खेलाडीलाई ‘डच’ दिँदै डाँगीले दोस्रो बारमा च्यापेर हानेको बलले जाली चुम्यो । त्यो आफैंमा उत्कृष्ट फिनिसिङ थियो । यस्तो कठिन अवसरमा नेपाली स्ट्राइकर बारम्बार चुक्ने गरेका छन् । मनिषको गोलसँगै माले रंशालामा उपस्थित करिब एक हजार नेपाली समर्थक राष्ट्रिय झण्डा उचाल्दै नाच्न थालेका थिए ।

माल्दिभ्ससँगको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । विगतमा नेपाललाई सेमिफाइनलबाट माथि उक्लिन नदिन माल्दिभ्सका खेलाडीले नेपाली गोलपोस्टमा निर्मम प्रहार गर्दै आएका थिए । तर, शुक्रबार मनिष डाँगीले साफ च्याम्पियनसीपमा माल्दिभ्सविरूद्ध ८५ मिनेटमा निर्णायक गोल गर्दै इतिहासको पुनर्लेखन गरिदिए ।

अबको कठिन चुनौती

नेपालले साफ च्याम्पियनसीपअन्तरगत अबको खेल बलिया देशहरु बंगलादेश, भारत र श्रीलंकाविरूद्ध खेल्ने छ । नेपालका लागि बंगलादेश र भारत सधै बलियो टोली हुन् । यी दुई खेलमा नेपाली खेलाडीको प्रदर्शन कस्तो हुन्छ, त्यसले नेपाल प्रतियोगिताको दावेदार हो कि होइन भन्ने पुष्टी गर्नेछ ।

नेपाली खेलाडीका लागि अहिलेको अवस्थामा सबैभन्दा ठूलो ‘गुरुमन्त्र’ भनेको नै संयमता हो । राम्रो खेलिरहेको अवस्थामा संयम गुमाउँदा नेपाली टोली प्रतियोगिताबाट बाहिरिएका थुप्रै उदाहरण छन् । शुक्रबार किरण चेम्जोङको संयम र आत्मविश्वास नेपाली टोलीका लागि बरदान सावित भयो ।

राम्रो खेलिरहेको अवस्थामा किरणले संयम गुमाउँदा केही खेलमा नेपालले मूल्य चुकाएको छ । किरण नेपाली राष्ट्रिय टिमका कप्तान मात्र नभएर सिनियर खेलाडी पनि भएका कारण उनको संयमता धेरै अर्थमा नेपाली टिमका लागि सहयोगी बन्ने पक्का छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *