पश्चिमी सीमानाकामा एसएसबीको अवरोध कायमै, आवागमन प्रभावित – Nepal Press

पश्चिमी सीमानाकामा एसएसबीको अवरोध कायमै, आवागमन प्रभावित

रुपन्देही । लामो समयदेखि भारतीय सीमानाकाबाट यात्रुवाहक सवारीसाधन आवजावत रोकिएको थियो । सरकारले शुक्रबारबाट सीमानाका सहज हुने पनि बताएको थियो । तर भारतीय एसएसबीको अवरोधका कारण सवारीसाधन नेपाल आउन सकेका छैनन् ।

सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै निर्देशन वा परिपत्र नआएकोले सीमामा निजी सवारी आवगमन रोकिएकोे नेपाली सुरक्षा अधिकारीले सूचना पाएको जनाएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारत सिमानाका खोल्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबारबाट आवगमन पहिलाकै अवस्थामा गर्ने भनी परिपत्र गरेपछि १८ महिनादेखि अवरुद्ध नाका खुल्ने पर्यटन व्यवसायीहरूले आशा गरेका थिए ।

पश्चिम क्षेत्रको ठूलो नाका रहेको रुपन्देहीको बेलहिया, बाँकेको सीमा नाकामा अन्य सबै क्षेत्र खुलेपनि सवारीसाधन आउनजान पाएका छ्रैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शुक्रबारबाट सीमानाका सहज हुने नेपाल पक्षबाट सबै तयारी भएपनि भारतीय पक्षबाट स्वीकृत नभएको बताए ।

उनले भने– आजबाट सहज हुनेगरी हामीले सबै तयारी गरेका थियौं तर उताबाट रेस्पोन्स आएन, त्यहाँका सुरक्षा अधिकारीहरुसँग नियमित कुराकानी भैरहेको छ, केही दिनमा सहज होला, सवारीसाधनबाहेक अन्य क्षेत्र भने सहज भएको छ ।

शुक्रारदेखि लुम्बिनीका ६ वटै जिल्लामा शुक्रबार नाका सहज हुने अनुमान गरिएको थियो । तर कुनैपनि नाकाबाट सवारीसाधन आउन सकेनन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया भारतसँग सीमा जोडिएका जिल्लाहरु हुन् ।
बाँकेको रुपेडिया, रुपन्देहीको बेलहिया, नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास मुख्य नाका हुन् भने अन्य आधा दर्जन सहायक नाकाहरु रहेका छन् ।

शुक्रबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सवारीसाधन नेपाल भित्रिन सकेनन् । भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण भारतीय गाडीहरू नेपाल आउन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताएका छन् ।

प्रहरी उपरीक्षक केसीले भने– सरकारको निर्णयअनुसार हामीले नाका सञ्चालनका लागि सबै तयारी पूरा गरेका थियौँ तर भारतीय पक्षबाट अवरोध भएको छ । एकदुई दिनमा समस्या समाधान हुन्छ ।

सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै पनि निर्देशन र परिपत्र नआएकोले सीमामा निजी सवारी आवगमन रोकिएकोे प्रहरी उपरीक्षक केसीले बताए । ‘एसएसबीले माथिल्लो निकायमा रिपोर्टिङ. सुरु गरेका छन् । सायद भोलिपर्सिसम्ममा भारतीय पक्षले सहज गर्छ’ प्रहरी उपरीक्षक केसीले भने ।

भारतीय पक्षले मालबाहक गाडी र नागरिकलाई परिचयपत्रको आधारमा आवतजावत गर्न भने दिएको छ । भारतीय पक्षले सीमा आवागमनमा अवरोध गरेको भन्दै स्थानीय व्यवसायीले सुनौलीस्थित प्रहरी चौकी केही समय घेराउ गरेका थिए ।

निर्वाध रूपमा सवारी आवागमन सुचारु गर्नुपर्ने भन्दै स्थानीयले आक्रोश पोखे पनि भारतीय एसएसबीले नेपालतर्फ गाडी प्रवेश सम्बन्धमा कुनै अनुमति नआएकाले रोक्न परेको दाबी गरेका थिए ।

‘हामीले रिपार्टिङ गरिसकेका छौँ, कुनै आदेश आएको छैन, केही निर्णय आउला । भारतीय सुरक्षाकर्मीलाई उदृत गर्दै सीमा क्षेत्रमा बसेका प्रहरी अधिकारीले बताउने गरेका छन् ।
रुपन्देहीको भैरहवा भन्सार कार्यालयले शुक्रबारदेखि भारतीय गाडीका लागि नाका खुलेको जनाएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकलजस्ता सवारी साधन नेपाल प्रवेश गर्नसक्ने भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले बताएपनि भारतीय पक्षबाट अवरोध भएकाले रोकिएको छ ।

नेपालको तर्फबाट पश्चिम नवलपरासीका सीमा नाका भने बिहीबारदेखि खुलेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सरकारको निर्देशनअनुसार सीमा नाका खोल्ने निर्णय गरेपछि बिहीबारैदेखि आवतजवात खुला गरिएपनि भारतीय पक्षबाट खुला नगरिँदा सुनसान छ ।

यद्यपि कोरोना संक्रमण उच्च रहेको बेला पनि भारतबाट नेपालतर्फ सहायक मार्गहुँदै आउजाउ भइरहेको थियो । सीमा क्षेत्रका स्थानीयले लामो समयदेखि नाका खोल्न माग गर्दै आएका थिए ।

जिल्लाको मुख्य भन्सार नाका महेशपुरसहित अन्य सिमा नाका पनि खुला गरिएको छ । मुख्य नाकाहरुमा स्थानिय तहलाई हेल्थ डेस्क राख्न पनि सुरक्षा समिति र डिसिएमसीको बैठकले आग्रह गरेको छ ।

नेपाल प्रवेश गर्नेहरुमा कुनै कोरोनासँग सम्बन्धित लक्षण देखिएमा सीमामा एन्टिजिन परीक्षण गरी रिपोर्ट नगेटिभ आएमा मात्र नेपाल प्रवेश गर्न दिइने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि बन्द भएका सिमानाका मन्त्रिपरिषदको असोज ११ गतेको बैठकले खला गर्ने निर्णय गरेको थियो । भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना विरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ ।

त्यस्तै ७२ घण्टाअघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ । नेपाल आउने यात्रुले सीसीएमसीले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।
एकैदिनमा फर्किने गरी विनाशुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्नेछन् । यस्तै बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्नेछ ।

सरकारले डेढ वर्षपछि यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर