माल्दिभ्स नेपालका लागि सधैं ‘डार्क हर्स’, के गर्ला आज नेपालले ? – Nepal Press

माल्दिभ्स नेपालका लागि सधैं ‘डार्क हर्स’, के गर्ला आज नेपालले ?

माल्दिभ्स । सन् १९९९ भारतको गोवामा आयोजना भएको साफ च्याम्पियनसिपको पहिलो खेलमै श्रीलंकाविरुद्ध नेपालका नरेश जोशीले ह्याट्रिक गोल गरे । उक्त प्रदर्शनसँगै जर्मनीका ३७ वर्षीय युवा प्रशिक्षक टोर्सेटन फ्रान्स स्पिटलरको प्रशिक्षणमा उत्रिएको नेपाली टोलीलाई प्रतियोगिताको मुख्य दावेदार मानिएको थियो ।

तर दूर्भाग्य ! समूह चरणको दोस्रो खेलमै अपत्यारिलो माल्दिभ्सले २-३ गोलले पराजित गर्दै नेपालको कमजोरी छताछुल्ल पार्‍यो । अझ, तेस्रो स्थानका लागि भएको खेलमा नेपाललाई पुनः ०-२ ले पराजित गर्दै माल्दिभ्सले सबैलाई चकित तुल्यायो ।

वास्तवमा दक्षिण एसियाली फुटबल समीकरणको कुरा गर्दा प्रायः सबैले नेपालको प्रमुख प्रतिद्वन्द्वी भारतलाई मात्र ठहर गर्दै आइरहेका छन् । राजनीतिक र विभिन्न गतिविधिले गर्दा नेपाली टोलीले पनि दक्षिण एसियामा आफ्नो प्रमुख प्रतिद्वन्द्वीको रूपमा भारतलाई मात्र देख्दै र ठहर्‍याउँदै आइरहेको छ ।

तर, साफ च्याम्पियनसिपको कुरा गर्दा वास्तविकता त्यो भन्दा निकै भिन्न छ । साफ च्याम्पियनसिपमा माल्दिभ्स नेपालका लागि सधै ‘डार्क हर्स’ हो । मालदिभ्सविरुद्धको अचुक औषधी नेपालले अहिलेसम्म फेला पार्न सकेको छैन ।

नेपालले आज माल्दिभ्सविरूद्ध उसैको मैदानमा साफ च्याम्पियनसिप- २०२१ को उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दैछ । युवा र केही अनुभवी खेलाडीको समिश्रण रहेको नेपाल दुई साता लामो यो प्रतियोगितामा कति टाढासम्म जान्छ भन्ने आजकै खेलले निर्धारण गर्नेछ । किनभने यसपालिको प्रतियोगिता ‘राउण्ड रबिन’ आधारमा हुँदैछ भने शीर्ष दुई स्थानमा पुग्ने टोलीले फाइनल खेल्ने छन् ।

माल्दिभ्सले सन् १९९७ मा नेपालमा आयोजना भएको साफ च्याम्पियनसिपबाट यो प्रतियोगितामा पाइला टेकेको हो । मोहम्मद निजाम, इब्राहिम रसिद, शाह स्माइल जस्ता खेलाडी सहभागी यो टिम पहिलोपल्ट साफ च्याम्पियनसिप खेल्न काठमाडौं उत्रिँदा नेपाली टोलीका तत्कालीन प्रशिक्षक भीम थापादेखि दीपक अमात्यसम्मले माल्दिभ्स भविष्यमा नेपालका लागि ‘अपत्यारिलो’ टिम बन्ने अड्कल गरेका थिएनन् ।

तर, काठमाडौंमा भएको पहिलो साफ सहभागितामै माल्दिभ्सले फाइनल पुगेर तहल्का मच्चायो । माल्दिभ्सले साफ च्याम्पियनसिपमा नेपाललाई तीनपल्ट निरास तुल्याइसकेको छ ।

सन् १९९९ भारतको गोवाबाहेक २००३ र २०१८ बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा पनि माल्दिभ्सले नेपाललाई निरास तुल्याएको थियो । सन् २००३ मा भुटानलाई पहिलो खेलमा २-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा माल्दिभ्सविरूद्ध निराजन रायमाझीको ५६ मिनेटको गोलका कारण अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई अन्त्यसम्म कायम राख्न नसक्दा नेपाल २-३ गोलले पराजित भयो । तेस्रो खेलमा बंगलादेशसँग ०-१ पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरियो ।

सन् २०१८ मा भुटानलाई ४-० र बंगलादेशलाई २-० ले पराजित गरेको नेपाल सेमिफाइनलमा पुग्न सफल भएको थियो । तर, सेमिफाइनलमा माल्दिभ्ससँग ०-३ ले स्तब्ध भयो ।

नेपालले आफ्नो खासै ठूलो प्रतिद्वन्द्वी नमानेको माल्दिभ्सले हालसम्म दुईपल्ट साफ च्याम्पियनसिप जितिसकेको छ । उसले सन् २००८ मा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भारतलाई १-० ले पराजित गर्दै पहिलोपल्ट आफ्नै देशमा आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । उ साफ च्याम्पियनसीपको साविक विजेता पनि हो ।

कोरोना महामारीले विश्व फुटबललाई प्रभावित पार्नुअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २-१ ले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको थियो । यसपालि आफ्नै देशमा हुन लागेको साफ च्याम्पियनसिपमा माल्दिभ्सको प्रतिष्ठा पनि जोडिएको छ । नेपालले भने हालसम्म उपाधि जितेको छैन ।

नेपाली टोलीका पूर्वकप्तान दीपक अमात्य पनि माल्दिभ्स नेपालका लागि ‘रहस्यमय टिम’ भन्न रुचाउँछन् ।

‘मैले तीनपल्ट माल्दिभ्सविरूद्ध खेलेँ । तीनैपल्ट नपत्याउने किसिमले हरायो । शारीरिक रुपमा उनीहरूभन्दा हामी बलियो देखिन्छौं । गेम पनि हाम्रो राम्रो नै हुन्छ । तर, पराजय किन भोगिरहेका छौं, त्यो चासोको विषय हो ।’

उनी माल्दिभ्सका प्रशिक्षकको विपक्षी टोलीको खेल अध्ययन गर्ने शैलीले पनि फरक पारेको हुनसक्ने बताउँछन् ।

‘उनीहरु डिफेन्स नै खेल्छन् । हामी आक्रामक खेल्छौं । ट्याक्टिकल पार्टमा राम्रै छ । उनीहरूको खेलाडीमा एक्स्पोजरको मात्रा बढी भएर हुनसक्छ,’ उनी भन्छन् ।

सन् १९९९ मा बलियो नेपाललाई पराजित गर्दा टोली कप्तान रहेका अमात्य माल्दिभ्सको सबैभन्दा बलियो पक्ष ‘काउन्टर एट्याक’ भएको बताउँछन् । बढी आक्रामक नदेखिए पनि पोजिसनमा बसेर खेल्ने माल्दिभ्सका खेलाडीहरूको रणनीतिको खुलेर तारिफ गर्छन् उनी ।

उनको विचारमा नेपालको हालको टोली पनि राम्रो छ, तर ‘गोर्खाली पारा’ ले तात्तिएर खेल्ने बानीबाट जोगिन उनी सल्लाह दिन्छन् ।

‘हामी आक्रामक हुँदा आफूमाथि हुने काउन्टर अट्याकका लागि तयारी गर्दैनौं, पछि यही नै समस्या बन्ने गरेको छ,’ उनी बताउँछन् ।

हालको नेपाली टोलीलाई उनको सुझाव छ, ‘अन्य खेलाडी काउन्टरमा गएको बेला सिनियर खेलाडीले पोजिसनमा बसेर खेल्नु पर्‍यो ।’

गत साफ च्याम्यिनसीपमा नेपाली टोलीको प्रशिक्षक रहेका बालगोपाल महर्जन उमेर समूहको प्रतियोगितामा माल्दिभ्सलाई नेपालले कैयौं प्रतियोगितामा पराजित गरेको इतिहास साक्षी रहे पनि सिनियरमा नेपाल कमजोर देखिएको बताउँछन् ।

‘खोई के हो, उमेर समूह जस्तै सिनियरमा हामीले जित निकाल्न सकिरहेका छैनौं,’ उनले भने, ‘उनीहरूले जुन किसिमले सेमी प्रोफेसनलिज्मलाई अंगालेका छन्, हामीले सकेनौं कि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *