भारत र अमेरिकाप्रति गरम, चीन र ल्याटिन अमेरिकी वाम सरकारप्रति नरम (भिडिओ) – Nepal Press
एमालेको राजनीतिक प्रतिवेदन

भारत र अमेरिकाप्रति गरम, चीन र ल्याटिन अमेरिकी वाम सरकारप्रति नरम (भिडिओ)

काठमाडौं । विश्व शक्ति सन्तुलन युरोप-अमेरिकाबाट एसियामा सरेको मूल्यांकन गर्दै मुख्य प्रतिपक्षी दल नेकपा एमालेले अहस्तक्षेप र मैत्रीपूर्ण सम्बन्ध नेपाली विदेश नीतिको सार हुनुपर्ने बताएको छ । आजदेखि ललितपुरमा सुरु भएको पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो भूराजनीतिक परिस्थितीबारे यस्तो निष्कर्ष निकालेका हुन् ।

चीन-भारतबीच सीमा समस्यालाई लिएर तनाव बढेको र यी दुई छिमेकी मुलुकको सम्बन्धको प्रभाव दक्षिण एसिया र समग्र विश्वमै परेको निष्कर्ष समेत एमालेले निकालेको छ । चीनको उदय, शक्तिशाली राष्ट्रको रुपमा रुसको पुनरागमन, ब्रिक्स र सांघाई सहकार्य संगठन लगायत क्षेत्रीय शक्ति र संगठनहरुको भूमिकाले चुनौति बढाएको मूल्यांकन गर्दै एमालेले विश्व बहुधुव्रिय बन्दै गएको निष्कर्ष समेत निकालेको छ ।

चीनसँगको सम्बन्ध लगायतका प्रश्नमा युुरोपले पछिल्लो समय स्वतन्त्र दृष्टिकोण राख्न थालेको उल्लेख गर्दै एमालेले विश्व प्रतिष्पर्धाको केन्द्र एसिया-प्रशान्त क्षेत्र बन्न थालेको उल्लेख गरेको छ । चीन र भारतबीचको सीमा समस्या लगायतका मतभिन्नता चाँडै समाधान हुनुपर्ने बताउँदै एमालेले दुई छिमेकी देशबीच सार्थक साझेदारी विकासको अपेक्षा व्यक्त गरेको छ । ‘यसले विकास र सहयोगको त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ’ एमालेले भनेको छ ।

‘अमेरिकाले अगाडि सारेको इन्डो-प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित छ’ अध्यक्ष ओलीले भनेका छन्, ‘हालै अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता (ओकस) ले यस क्षेत्रमा तनाव सिर्जना गरेको छ ।’

अफगानिस्तान घटनाका बाछिटा नेपालमा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने आंकलन गर्दै प्रतिवेदनमा नेपालले स्पष्टरुपमा अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा ढृढतापूर्वक उभिनुपर्ने एमालेको मान्यता छ ।

अफगानिस्तानमा अमेरिकाले गरेको आक्रमण र हस्तक्षेपको एमालेले विरोध गरेको छ । ‘जुनसुकै बहानामा गरिए पनि वाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्बन्धित मुलुककै जनताको हो, वाह्य शक्तिको होइन’ एमालेले भनेको छ ।

म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक दमन भएकोमा विरोध जनाउँदै एमालेले लोकतान्त्रिक प्रणालीमाथि चुनौति खडा भएको बताएको छ । ल्याटिन अमेरिकी मुलुकका बामपन्थी सरकारलाई असफल बनाउन हस्तक्षेप र षड्यन्त्र जारी रहेको बताउँदै प्रतिवेदनमा त्यसको बाबजुद पनि आन्दोलनले गति लिएको जनाइएको छ ।

नेपालले आफ्नो भूभाग कुनैपनि छिमेकी मित्रराष्ट्रविरुद्ध उपयोग हुन नदिने नीतिमा पार्टी द्धृढ रहेको बताउँदै एमालेले नेपाल एक चीन नीतिमा अडिग रहेको समेत जनाएको छ ।

एमालेले भारतसँगको सीमा समस्या र आफ्नो सरकार हुँदा चुच्चे नक्सामा सामेल गरिएका लिपुलेक, कालापानी र लिम्पियाधुराबारे समेत उल्लेख गरेको छ । सीमा वरपार हुने अपराध र आतंकवादीले लाभ उठाउन नसकून भन्ने विषयमा भारतीय सरोकार रहेको निष्कर्ष निकाल्दै एमालेले भारतसँगको व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, आन्तरिक मामलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको बताएको छ ।

नेपाल र भारतबीचका समस्यालाई कूटनीतिक पहलको माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै एमालेले छिमेकीका जायज चासो र सरोकारप्रति सजग रहेको प्रतिवेदनमा उल्लेख छ । ‘यस्तै सजगता र सम्मान हामी मित्रराष्ट्रहरु, विशेषतः छिमेकीबाट चाहन्छौं’ एमालेले भनेको छ ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन भारतप्रति आक्रामक र चीनप्रति नरम सुनिएको छ । आफ्नो सरकार हुँदा भारतसँगको नाकाबन्दीविरुद्ध आवाज उठाएको, सीमा समस्याबारे बोलेको र अतिक्रमित भूमीलाई फिर्ता ल्याएको भन्दै जस लिने प्रयास देखिएको छ ।

चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई तनाव र सीमा विवादले विस्थापन गरेको विश्लेषण गर्दै एमालेले दुई देशबीच संवाद भए पनि समस्या कायमै रहेको निष्कर्ष निकालेको छ । ‘दुई देशबीचको तनावको असर समग्र दक्षिण एसियामा अनुभूत भएको छ । भारत-पाकिस्तानबीच तनाव जारी नै छ’ प्रतिवेदनमा उल्लेख छ, ‘भारतसँग नेपाललगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन् ।’

संसारका प्रमुख अर्थतन्त्रबीचको तनाव र व्यापार युद्धलाई अन्त्य गर्ने सार्थक पहल हुन नसेकेको बताउँदै ओलीले प्रतिवेदनमा राष्ट्र सङ्घ र यस अन्तरगतका मानव अधिकार परिषद्, जलवायु सम्झौता जस्ता संस्था÷प्रबन्धलाई निष्प्रभावी तुल्याउने कोशिस भएको टिप्पणी गरेको छ ।

वैज्ञानिकहरुले आठ महिनामै कोभिडविरुद्धको खोप आविष्कार गरेर महत्वपूर्ण उपलव्धि हासिल गरे पनि खोपको असमान वितरण गम्भीर चुनौती बनेको बताउँदै एमालेले ‘खोप राष्ट्रवाद‘, भाइरस एवं खोपका विषयमा देखिएको राजनीतिकरणलाई विडम्बनापूर्ण भनेको छ ।

भारतप्रति आक्रामक, चीनप्रति नरम

अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन भारतप्रति आक्रामक र चीनप्रति नरम सुनिएको छ । आफ्नो सरकार हुँदा भारतसँगको नाकाबन्दीविरुद्ध आवाज उठाएको, सीमा समस्याबारे बोलेको र अतिक्रमित भूमीलाई फिर्ता ल्याएको भन्दै जस लिने प्रयास देखिएको छ । भारतीय चासो र सरोकारका विषय समेटिएको प्रतिवेदनमा भारतसँग सीमा समस्या लगायतका धेरै अप्ठ्यारा रहेको भन्दै छिमेकी र सार्वभौम मुलुकको रुपमा सम्मानको अपेक्षा व्यक्त गरिएको छ ।

भारतसँग व्यापार घाटा, लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, नेपालको आन्तरिक मामलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको बताउने एमालेले चीनसँगको सरोकारबारे खासै टिप्पणी गरेको छैन ।

‘हामी हाम्रा छिमेकीका जायज चासो र सरोकारप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरु, विशेषतः छिमेकीहरुबाट चाहन्छांै । दुई देशबीचका समस्यालाई जिम्मेवार कूटनीतिक पहलका माध्यमबाट समाधान गर्न चाहन्छौं’ ओलीले प्रतिवेदनमा भनेका छन् । वर्तमान देउवा सरकार दार्चुला प्रकरणमा भारतसँग मौन बसेको तर, हुम्लामा चीनले सीमा मिचेको भन्दै विवाद चर्काउन खोजेको पृष्ठभूमिमा एमालेको प्रतिवेदन भारतप्रति आक्रामक सुनिएको हो ।

बुँदागतरुपमै भारतसँगका अप्ठ्यारालाई प्रस्तुत गरेका ओलीले चीनलाई भने सन् २०२० मा देशबाट गरिबी उन्मुलन गर्न सफल भएको भन्दै बधाइ दिएका छन् । ‘चीनले औसतरुपमा समृद्ध समाजवादी राष्ट्र बन्ने पहिलो शताव्दीको लक्ष्य हासिल गरेको छ । यस सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता वधाइका हकदार छन्’ ओलीले भनेका छन् ।

जलवायु परिवर्तनबारे एमालेले नेपालजस्ता जोखिममा परेका मुलुकका लागि वित्तीय सुविधा आवश्यक भएको बताएको छ । जलवायु परिवर्तनका विरुद्ध बलियो अन्तर्राष्ट्रिय साझेदारीको खाँचो औंल्याउँदै पार्टीले औद्यौगिक राष्ट्रहरुले देखिने गरी कार्बन उत्सर्जन घटाउनु र हरित अर्थतन्त्र एवं हरित विकासका लागि ठोस कदम चाल्नु आवश्यक भएकोमा जोड दिएको छ ।

अफगानिस्तान नीतिमा पनि चीन र एमालेको विदेश नीति निकट सुनिएको छ । तालिबानले काबुललाई नियन्त्रणमा लिने वित्तिकै चिनियाँ विदेश मन्त्रालयले अफगानिस्तानमा बाह्य हस्तक्षेपप्रति विरोध जनाउँदै नागरिक नै आफ्नो निर्णय गर्न स्वतन्त्रण हुने जनाएको थियो । चीनको अफगानिस्तान न्यारेटिभलाई एमालेले पछ्याउन खोजेजस्तो देखिन्छ ।

भारतीय नाकाबन्दीलाई साहसपूर्वक सामना गर्दै असफल परिएको बताउँदै ओलीले यसलाई आफू नेतृत्वको सरकारको उपलब्धीको रुपमा चर्चा गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गरेको उल्लेख गर्दै ओलीले नेपालको तर्फबाट सार्वभौम समानता, अहस्तक्षेप, आपसी हित र सम्मानका आधारमा भारतसँग विश्वासिलो सम्बन्ध राख्न चाहेको र भविष्यमुखी भएर सार्थक सहकार्य गर्न चाहेको बताएको समेत जनाएका छन् ।

अमेरिकाले अघि सारेका गठबन्धनहरु इन्डो-प्यासिफिक र ओकसबारे टिप्पणी गरेको एमालेले बहुचर्चित अमेरिकी अनुदान सम्झौता एमसीसी र चिनियाँ पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे भने मौनता साँधेको छ ।

प्रधानमन्त्रको रुपमा चीनको भ्रमण गरेर पारवहन यातायात सम्झौता सहित विभिन्न १५ वटा सम्झौता र सहमति गरेकोलाई पनि एमालेले उपलब्धीको रुपमा लिएको छ । ‘भूपरिवेष्ठित अवस्थालाई रुपान्तरण गरी पारवहनमा एकपक्षीय निर्भरतालाई अन्त्य गरियो । नेपालको स्वाभिमानलाई सुदृढ गर्न भ्रमण ऐतिहासिक रुपमा सफल रह्यो’ ओलीले भनेका छन् ।

आफू चीन भ्रमणबाट फर्किएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपालले वाह्य शक्तिको इसारामा आफ्नो सरकार ढालेर अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउँदै ओलीले भारतको नाम नलिइकन वाह्य शक्तिको संलग्नता भएको निष्कर्ष निकालेका छन् ।

‘वाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिई विस्थापित गर्ने योजनामा पुष्पकमल दहाल, माधवकुमार नेपाल लगायत तिनै पात्रहरु क्रियाशील थिए, जसले २०७४ पछि मेरो नेतृत्वको सरकारलाई असफल बनाउन उसै गरी घेराउ, मोर्चाबन्दी र षडयन्त्र गरे’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अमेरिकाले अघि सारेका गठबन्धनहरु इन्डो-प्यासिफिक र ओकसबारे टिप्पणी गरेको एमालेले बहुचर्चित अमेरिकी अनुदान सम्झौता एमसीसी र चिनियाँ पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे भने मौनता साँधेको छ । गत महीना नेपाल आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई एमाले अध्यक्ष ओलीले एमसीसीलाई हेर्ने दृष्टिकोणमा एमालेले हतार नगर्ने जवाफ दिएका थिए ।

तर, प्रतिवेदनमै एमालेले वातावरण लगायतका साझा सवालमा सहमति र साझा प्रयासका साथ अगाडी बढ्नु पार्टीको विदेश नीतिको सार भएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर