साफ च्याम्पियनसिप आजदेखि, नेपालको लक्ष्य फाइनल यात्रा – Nepal Press

साफ च्याम्पियनसिप आजदेखि, नेपालको लक्ष्य फाइनल यात्रा

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता- साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरू हुँदैछ । पूर्वनिर्धारित तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुने भनिएको थियो । तर, अन्तिम समयमा तालिका परिवर्तन भएसँगै आज दिउँसो ४:४५ बजे हुने खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन् । नेपाल र माल्दिभ्सबीचको प्रतिस्पर्धा भने बेलुका पौने १० मा हुनेछ ।

कतारमा बन्द प्रशिक्षण गरेर माल्दिभ्स पुगेको नेपालको यसपालीको प्रमुख लक्ष्य हो, फाइनल यात्रा । प्रतियोगिताको सदावहार दाबेदार नेपाल अहिलेसम्म फाइनल सम्म पुग्न सकेको छैन । र, यो संस्करणमा त्योा ‘डेड-लक’ तोड्ने नेपालको प्रमुख लक्ष्य हो ।

र, शुक्रबार राति हुने साविक विजेता तथा घरेलु टोली माल्दिभ्सविरुद्धको खेलसँगै नेपालले शीर्ष दुईमा पर्ने यात्राको सुरूआत गर्नेछ ।

प्रि-म्याच पत्रकार सम्मलेनमा बोल्दै नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले माल्दिभ्सविरूद्धको खेल कठिन हुने बताएका थिए ।

‘उनीहरूको टोली राम्रो छ र साविक विजतासमेत हुन्,’ उनले भने, ‘त्यसमाथि उनीहरू आफ्नै मैदानमा खेल्दैछन्, र हाम्रा लागि यो खेल कठिन हुनेछ ।’

प्रतियोगिताको दाबेदारबारे सहायक प्रशिक्षक श्रेष्ठले माल्दिभ्स र भारतलाई जित्नु महत्त्वपूर्ण हुने बताए ।

‘भारतले सात पटक जितिसकेको छ र माल्दिभ्सले दुई पटक,’ उनले भने, ‘नेपालको तयारी राम्रो छ, मैत्रीपूर्ण खेल र बन्द प्रशिक्षणबाट धेरै फाइदा पुगेको छ ।’

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले विपक्षीसँगको भिडन्तका लागि आफूहरू तयार रहेको बताए ।

‘माल्दिभ्सलाई घरेलु समर्थकको फाइदा हुनेछ । हामी सबै समर्थकलाई सम्मान गर्छौं तर फाइदाले हामीलाई केही फरक पार्दैन । हामी यहाँ पिचमा प्रतिस्पर्धा गर्न र नतिजाका लागि आएका हौं ।’

साफ खेल्ने नेपाली टोलीः

किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, आयुष घलान, रोहित चन्द, सुरज जेउ ठकरी, नितिन थापा, विशाल राई, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, मनिस डाँगी, कमल थापा, अन्जन विष्ट, सुनिल बल, आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नवयुग श्रेष्ठ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर