निजी अस्पताल सन्चालकलाई ‍बनाइयाे लुम्बिनी प्रादेशिक अस्पतालको मेसु – Nepal Press

निजी अस्पताल सन्चालकलाई ‍बनाइयाे लुम्बिनी प्रादेशिक अस्पतालको मेसु

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा ११ औं तहका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर १० औं तहका डा. इन्द्र ढकाललाई मेसु बनाएको छ । ११ औं तहका ५ जना डाक्टर रहेको सो अस्पतालमा १० औं तहका डक्टरलाई प्रशासनिक जिम्मेवारी दिइएपछि असन्तुष्टि सुरु भएको छ ।

साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकारले यही निर्णय गर्दा चौतर्फी आलोचना भएपछि सरकारले थमौती गरेको थियो । पोखरेल नेतृत्वको सरकारको अन्तिम बैठकले ब्यापक आलोचनाका बीच खनाललाई हटाएर डा. इन्द्र ढकाललाई निमित्त मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गर्दा अहिलेको सरकारको नेतृत्व गरेको गठबन्धन दलका सांसदहरु तथा मन्त्रालयकै कर्मचारीले विरोध गरेका थिए ।

त्यसबेला गरिएको नियुक्तिको माइन्युट नभेटिएको भन्दै केसी नेतृत्वको सरकारले उक्त निर्णय कार्यान्वयन गरेको थिएन । तर बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भने डा. खनाललाई हटाएर सो स्थानमा डा. ढकाललाई नियुक्त गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाएर डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाजका लागि खटाइएको जानकारी दिए ।

अघिल्लो सरकारले रेडियोलोजीका वरिस्ठ चिकित्सक डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेको थियोे यसपटक भने कोभिड उपचारको संयोजकको जिम्मेवारी दिएको छ ।

चितवनमा दरबन्दी रहेका दशौं तहका हाडजोर्नी विशेषज्ञ डा. ढकाल २०७६ कार्तिकदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा कार्यरत छन् । त्यो समयमा १ वर्षका लागि काज लिएर आएपनि लामो समय राजनीतिक दवावमा ढकालले प्रकृया मिलाएर बसेका छन् ।

पहिलोपटक २०७२ सालमा लुम्बिनी अञ्चल अस्पतालको मेसु बनेका डा. खनाल आफूभन्दा माथिल्लो तहका डा. विकास देवकोटा सरुवा भएर आएपछि मेसुबाट बिदा भएका थिए । २०७६ मंसिरमा तत्कालीन मेसु डा. कृष्ण खनालको अवकाशपछि उक्त जिम्मेवारीमा दोहोरिएका थिए ।

पहिलोपटक अस्पतालको मेसुबाट बिदा भएपछि कान्ति बाल अस्पताल पुगेका डा. खनाललाई पूर्वअर्थमन्त्री तथा एमालेका उपमहासचिव विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सुधारका लागि भन्दै बुटवल फर्काएका थिए ।

निमित्त मेसु हुँदै अस्पतालका बेथिति नियमन गर्न थालेका डा. खनालले त्यतिबेला अस्पताल परिसरमा रहेका सटर भत्काएर चिकित्सकहरुलाई मेडिकलमा नभई अस्पतालमा बस्न बाध्य बनाएका थिए ।

अस्पतालको पूर्वतर्फ रहेका ७३ वटा सटरमा अस्पतालका चिकित्सकहरु क्लिनिक चलाउँथे तर उनले तिनै सटर भत्काइदिएका कारण केही व्यवसायीसँगै व्यापारिक पृष्ठभूमिका नेताहरू असन्तुष्ट थिए ।

कांग्रेस नेता परशुराम ढकालका छोरा डा. इन्द्र ढकालको परिवार अस्पताल नजिकै रहेको निजी अस्पताल साझा अस्पतालका संचालक भएकाले सरकारी अस्पतालमा स्वार्थ बाझिने र १० औं तहका डक्टरले ११ औं तहका डाक्टरहरुलाई काममा खटाउन समस्या पर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

यस्ता छन् बैठकका अन्य निर्णय

मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने भएको छ ।

रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकारलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।

खड्काले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) २०७८ गरी यसभन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैयाँ प्रदान गर्न सकिने गरी संशोधन गरेको जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेशमा कानून निर्माण गर्नुपर्ने भएकाले कानून मस्यौदा समिति लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ताको संयोजकत्वमा संयोजकत्वमा कानून मस्यौदा कार्यदलका सदस्य नियुक्त गर्ने निर्णय गर्ने, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ अस्थायी दरवन्दी २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर