व्यवसायी भन्छन्- २० वर्षमा कमाएको २० महिनामा डुब्यो, अब फेरि उठ्छौं – Nepal Press
पर्यटन क्षेत्रमा आशाको किरण

व्यवसायी भन्छन्- २० वर्षमा कमाएको २० महिनामा डुब्यो, अब फेरि उठ्छौं

६१ वर्षअघिकै स्थितिमा पुगेको पर्यटन व्यवसाय सुधार्ने प्रयास

काठमाडौं । कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएन मात्रै, कतिपय व्यवसायी उठ्नै नसक्ने गरी थला परे, कति पलायन भए । तर, सरकारले गरेको पछिल्लो एक निर्णयबाट पर्यटन व्यवसायीमा आशाको किरण पलाएको छ ।

विदेशबाट आउने पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम हटाएसँगै पर्यटन व्यवसायीमा आशसँगै उत्साह जागेको हो । सन् २०२० को सुरुदेखि नै कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र सुस्ताएको थियो ।

त्यस्तै सरकारले अनअराइभल भिषा सहज गरिदिँदा पनि पर्यटन व्यवसायीले निकै राहत महसुस गरेका छन् । नेपाल होटल एसोसिएसन संघ (हान)का महासचिव साजन शाक्य भन्छन्– नेपालमा यो वर्षको अटम सिजनको समय करिब एक महिना बाँकी छ । हामी अब पर्यटन पर्खिरहेका छौं ।

आउँदो सिजनमा नेपालमा कोभिडको तेस्रो लहर फैलन सक्ने भएपनि त्यस समयसम्म ठूलो संख्यामा नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसक्ने भएकाले पर्यटक आगमनमा ठूलो असर नगर्ने व्यवासयी बताउँछन् ।

‘२० वर्षमा कमाएको २० महिना गुम्यो, तर अझै उठ्ने आश छ’

कतिपय पर्यटन व्यवसायीले २० वर्षमा कमाएको पछिल्लो २० महिनामै गुमाउन परेको दुखेको पोखेका छन् । सोसाइटी आफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो) नेपालका अध्यक्ष नारयाणप्रसाद पराजुली भन्छन्, ‘मैले २० वर्ष लगाएर कमाए तर, २० महिनामा नै सबै स्वाहा भयो । भर्खर–भर्खर पर्यटन व्यवसायमा लागेकाको हालत के भयो होला ?’

तर, उनी अब भने केही आशावादी बनेका छन् । ‘अब सरकारले पनि पर्यटन व्यवसाय जोगाउनका लागि केही जमर्को गरेको छ । यो सिजन गए पनि अर्को सिजनबाट त पर्यटक आउलान नि !,’ उनले भने ।

६१ वर्षअघिको स्थितिमा नेपालको पर्यटन

नेपाल सरकारले ‘भ्रमण वर्ष– २०२०’मा पर्यटन वर्ष घोषणा गर्दैगर्दा कसैले पनि कल्पना गरेको थिएन होला कि नेपालमा पर्यटकको संख्या शून्य होला भनेर । तर, कसैले नचिताएको कोभिड–१९ विश्वभरी फैलिएसँगै नेपालमा भ्रमण वर्ष त रोकियो नै पर्यटकको संख्या पनि ६१ वर्ष पहिलेकै स्थितिमा आयो ।

नेपालको पर्यटन व्यवसाय करिब १९६० को दशकमा शुरु भएको थियो । र, सोही समयमा १९६४ सालमा नेपालमा ९ हजार ५ सय २६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।

कोभिडका कारण अहिले नेपालमा वास्तविक नेपाल घुम्न आउने पर्यटकको संख्या यसकै हाराहारीमा छ । तर, सरकारले इमान्दारी पूर्वक दायित्व निभाएर विदेशी पर्यटक आउने वातावरण तय गरे पुनः केही समयमा नेपालको पर्यटन लयमा फर्किनेमा आफू आशाबादी भएको बताउँछन्, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल । ‘केही समय लागे पनि हामी यही व्यवसायमा रहने छौं ।’

धमाधम प्याकेजको घोषणा गर्दै पर्यटन व्यवसायी

२० महिनादेखि कोभिडको मार खेपिरहेका पर्यटन व्यवसायीले बजार चलायमान भएसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी धमाधम सस्तो प्याकेज ल्याउन थालेका छन् । पोखरा, चितवन, लुम्बिनी, धुलिखेल, नगरकोटलगायतका देशका मुख्य पर्यटकीय स्थलका होटल व्यवसायी तथा अन्य पर्यटन व्यवसायीले प्याकेजको घोषणा गरिसकेको छन् ।

साथै, विभिन्न हवाई कम्पनीले उडान भर्ने माउन्टेन फ्लाइटलमा पनि छुटको व्यवस्था गरिएको छ । गत वर्षको पहिलो लकडाउन खुकुलो भएपछि धमाधम पर्यटन व्यवसायीले प्याकेजको घोषणा गरेका थिए र आन्तरिक पर्यटकले ठूलो मारमा परेका व्यवसायीलाई केही सयम राहत पनि दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर