उत्तरी मोरङका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन – Nepal Press

उत्तरी मोरङका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन

इटहरी । उत्तरी मोरङको जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन भएको छ । उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा रहेका राईको ४ बजे निधन भएको उनका छिमेकी तथा स्थानिय शिक्षक राजु खड्काले बताए । खड्काका अनुसार राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो ।

कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण राईको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै खड्काले बताए ।

५७ वर्षका राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रालिमार्फत चिया खेती सुरु गरेका थिए । अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्याप्त गर्ने राईले उत्तरी मोरङमा पहिलोपटक चिया खेती सुरु गरेका थिए । भारत, चीन लगायत युरोप अमेरिकामा राईको चिया निर्यात हुने गथ्र्यो ।

उनले जिल्ला कृषि विकास कार्यालय मोरङबाट २०७१ सालमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाएका थिए । २०७२ मा विराटनगरमा भएको नवौँ प्रांगारिक कृषि मेलामा समेत प्रथम भएका थिए राई । यस्तै २०७३ सालमा विराटनगरमै भएको खाद्य मेलाको प्रथम विजेता समेत उनै थिए । समुन्द्र सतहबाट १७ सय मिटरको उचाहिमा उत्पादन हुने उनको चियाको आफ्नै ब्रान्ड छ । अर्गानिक तथा ग्रीन टिका पारखी तथा उत्पादकहरु उनको बगान क्षेत्रमा नियमित पुग्ने गर्थे ।

इटहरीको जनता बहुमुखी क्याम्पसका प्राध्यापक राईसँग धेरै संगत गरेका अर्जुन उप्रेती राईको निधनले उत्तरी मोरङको चिया, कृषि र पर्यटनको क्षेत्रमा ठूलो घाटा हुने बताउँछन । आफ्ना समाज कार्य अध्ययनका विद्यार्थीहरुलार्इ लिएर धेरैपटक राईको चिया बगान क्षेत्रमा पुगेका उनी भन्छन, ‘जेफालेले धेरै ठूलो व्यक्तित्व गुमायो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *