एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित) – Nepal Press

एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित)

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । महाधिवेशनको ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

महाधिवेशन तयारीबारे विहीबार मूल व्यवस्थापन समितिले गरेको पत्रकार सम्मेलनमा व्यवस्थापन र कार्यक्रमबारे जानकारी दिइएको छ । जस अनुसार उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

अन्य व्यवस्थापन

महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ।

मंचमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

हलको दायाँ वायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ । समूह गत छलफलका लागि पनि व्यवस्थित स्थानहरु तय गरिएको बताइएको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको बताइएको छ ।

महाधिवेशन अवधिभर हरेक दिन विहान ९ देखि ११ वजेसम्म खानाको समय छुट्याइएको छ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

निजी साधन नभएका प्रतिनिधि कमरेडहरुको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरुको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासंभव व्यवस्थापन गरिएको बताइएको छ।

महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको बताइएको छ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको बताइएको छ। मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध आवश्यक नपर्ने र मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *