लुम्बिनीको विकास नरोक्न प्रधानमन्त्रीलाई विष्णु पौडेलसहित रुपन्देहीका एमाले नेताले आग्रह – Nepal Press

लुम्बिनीको विकास नरोक्न प्रधानमन्त्रीलाई विष्णु पौडेलसहित रुपन्देहीका एमाले नेताले आग्रह

ज्योतिनगरको पहिरो नियन्त्रण र पीडितलाई राहत दिन माग

रूपन्देही । बुटवलस्थित ज्योतिनगर पहिरो नियन्त्रणलगायत रूपन्देहीका विकासे योजनाबारे सरकारको ध्यानाकर्षण गराउन पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीसहितको टोलीलाई लिएर सर्वदलीय बैठक चलिरहेकै बेला पौडेल बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।

नेता पौडलले जिल्लाको विकासका काम रोकिएकोमा आपत्ति जनाउन जिल्लाका स्थानीय सरकार प्रमुखसहित प्रधानमन्त्री भेट्न पुगेको उनको सचिवालयले जनाएको छ ।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका हुन् ।

भेटमा नेता पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन, पहिरो नियन्त्रण, बुटवलको संरक्षणका साथै गुरुयोजना निर्माण र प्रभावितहरुलाई पुनस्थापनाको लागि बजेट व्यवस्था गर्नुपर्ने बताए । ‘वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई निर्देशन दिनुहोस्’ पौडेलले प्रधानमन्त्रीलाई भने।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताए । उनले चुरे क्षेत्रको संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताए।

नेता पौडेलले २१ भदौमा पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पहिरो नियन्त्रणको लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए।

भदौ १३ र असोज ४ गते गरी बुटवल–३ ज्योतिनगरमा चुरेबाट झरेको पहिरोले २० भन्दा बढी घर पुरिएका छन् भने ज्योतिनगर बस्ती नै जोखिममा परेको छ।

बुटवलको ज्योतिनगर चुरेको फेदमा पर्छ। ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शीरमा ध्वँजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो।

त्यतिबेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरे समग्र बुटवल क्षेत्रलाई नै जोखिमपूर्ण बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर