ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच सम्झौता – Nepal Press

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच सम्झौता

काठमाडौं । नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । पेरिस सम्झौताको भावनाअनुसार कार्वन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि सो सम्झौता भएको हो ।

नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट छलफलसमेत भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन सक्ने बताएका छन् । सन् २०३० सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानी कर्ताहरूलाई उनले अनुरोध गरे ।

अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरूलाई अपिल गरे ।

नेपाल र बेलायतका लगानीकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा यूके-नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपालस्थित बेलायती राजदूत निकोला पोलिट र नेपाली राजदूतावासकी रोसन खनालले हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरूबीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकलगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्षहरूले समेत सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर