प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू, एमालेका कुर्सी खाली – Nepal Press

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू, एमालेका कुर्सी खाली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । संसदमा जारी अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेको छ । बैठकस्थलमा एमाले प्रतिनिधिका लागि छुट्याइएको कुर्सी खाली छन् ।

देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्नि सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले सडक र सदनमा निरन्तर विरोध गर्दै आएको छ ।

गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी ओली र एमालेका कुनै प्रतिनिधि सहभागी नहुने नेपाल प्रेसलाई बताए ।

यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।

आफूहरूले कारवाही गरेका १४ सांसदको सभामुखले सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका एजेण्डामा कुनै छलफल नहुने एमालेको अडान छ । यही विषयमा एमालेले संसदमा अवरोध जारी राखेको छ । सभामुखले भने सदनका कारवाही निरन्तर अघि बढाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर