जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन – Nepal Press

जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन

३ महिनामा प्रतिवेदन पेश गर्नुपर्ने समयसिमा

काठमाडौं । सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३ महिनामा प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव एवम नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल, मन्त्रालयका हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा प्रमुख समेत रहेका सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । नागरिक उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा भने सदस्य सचिव छन् ।

समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्नेलगायत कार्यक्षेत्र तथा शर्त तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनका अनुसार आइकाओबाट स्वीकृत मापदण्ड र वायुयान उत्पादक कम्पनीको म्यानुअलको व्यवस्था वायुसेवा कम्पनीले कार्यान्वयन गरे र नगरेको सम्बन्धमा प्राधिकरणले गरेको परिक्षण प्रतिवेदनको पुनरावलोकन गर्न, ईजाजत प्राप्त वायुयान चालक दलका सदस्यको सम्बन्धमा स्वीकृत मापदण्डको पालनाको सम्बन्धमा परीक्षण गर्न कार्यक्षेत्र तथा शर्त ताेकिएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने उडान सुरक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारको अध्ययन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्पादित सुरक्षा परिक्षण कार्यको गुणस्तरीयता अद्यावधिकता सहितको सम्परीक्षण गर्ने कार्यक्षेत्र र शर्त पनि तोकेको छ ।

यस्तै छानविन गर्ने क्रममा हवाई सुरक्षा मापदण्डको पालना नभएको पाईएमा त्यस्ता हवाइजहाज र हेलिकोप्टरको उडानलाई निषेध गरी शर्त पुरा नभएसम्मका लागि भूमिस्थ गर्ने, यस अघिका हवाई दुर्घटना जाँच गर्न गठित समितिले पाए सरहको सुविधा उपरोक्त समितका पदाधिकारीलाई उपलब्ध गराउने, अन्य कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुने, समितिको काममा कुनै द्धिविधा वा बाधा अडकाउ परेमा मन्त्रालयको निर्णय अन्तिम हुने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर