वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ – Nepal Press

वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले सबै नेपाली नागरिकलाई कोरोनविरुद्धको खोप लगाउने अवधि लम्बाएको छ । यसअघि प्रधानमन्त्रीले चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिएका छन्। विश्व मुटु दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले अहिले दैनिक तीन लाख जनालाई सो खोप लगाउने काम गरिरहेको बताए।

सरकारले तीनमहिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको जानकारी उनले दिए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड खोप सुनिश्चित गरिएको समेत बताए ।

‘हामीले एक करोड ७७ लाख डोज खोप ल्याइसकेका छौँ । दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु। हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ। फ्रन्टलाइनरहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरूमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ,’ उनले भने।

मुटुरोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको राज्यमन्त्री श्रेष्ठले बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुरोगबाट बच्न धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न नागरिकलाई आग्रह गरे । मुटुरोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै उनले उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाब दिए।

कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर