अशोक शर्माको प्रस्ताव : कुलमानमा दम्भ बढ्यो, सबै टेलिभिजन प्रसारण ब्ल्याक आउट गरौं – Nepal Press

अशोक शर्माको प्रस्ताव : कुलमानमा दम्भ बढ्यो, सबै टेलिभिजन प्रसारण ब्ल्याक आउट गरौं

काठमाडौं । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङमा दम्भ पलाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव शर्माले प्रशासकहरुले दम्भ लिएर हिँड्दा राष्ट्रलाई घाटा पुग्ने बताए ।

‘जनतामाझ लोकप्रिय छु भन्ने कूलमानजीसँगको दम्भलाई मैले उहाँसँगका एकदुईवटा मिटिङमा देखेको छु’ शर्माले भने, ‘प्रशासकहरु दम्भमा हिँड्दा घाटा हुने राष्ट्रलाई नै हो । यस्ता प्रशासकलाई साथ दिने नेता पनि भोलि चुनावमा हार्ने निश्चित छ ।’

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशतसम्म बढाएर सरकारले सूचनाको हक खोस्न लागेको भन्दै आक्रोशित भएका केवल टेलिभिजन व्यवसायीहरु अहिले काठमाडौंमा भेला भएका छन् ।

केवल टिभी व्यवसायीको आन्दोलनमा चलचित्र संघको पनि समर्थन हुने भन्दै महासचिव शर्माले सरकारले व्यापारलाई व्यवस्थापन गर्न भन्दा पनि निरकुंशता लाद्न खोजेको बताए ।

‘सरकार सेवक भन्दा पनि शासकजस्तो देखिएको छ । सरकारसँग हाम्रा पनि धेरै विरोधाभाष नीति छन् । यसलाई सच्याउनुपर्छ । पैसा उठाएर सरकारी ढुकुटीमा राख्छु भन्नेमात्र बहादुरी हैन’ शर्माले भने ।

सरकारले सेन्सर बोर्डमार्फत फिल्ममा पनि विभेद लादेको आरोप शर्माले लगाए । ‘सेन्सरमा बस्नेहरुको मनस्थिती जुनै फिल्म पनि काट्नुपर्छ भन्ने छ’ उनले भने, ‘सरकार सच्चिनुपर्छ ।’

केवल टिभी व्यवसायीहरुको मागलाई नेपाल चलचित्र निर्माता संघले पनि समर्थन जनाएको छ । अध्यक्ष आकाश अधिकारीले पनि मागमा ऐक्यबद्धता जनाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर