चीनमा डाक्टर पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले आवेदन माग्यो – Nepal Press

चीनमा डाक्टर पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले आवेदन माग्यो

असोज २२ गतेसम्म विद्यार्थीले आवेदन दिन सक्ने

काठमाडौं । शिक्षा मन्त्रालयले चीन तथा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि प्रक्रिया अगाडि बढाएको छ। कोभिड–१९ महामारीले इन्टर्नसिप गर्न नपाएका सन् २०१५ ब्याचका विद्यार्थीसँग सरकारले आवेदन मागेको हो ।

मन्त्रालयले असोज २२ गतेसम्म आवेदन दिन भनेको छ। मन्त्रालयको वेबसाइटमा राखिएको सूचना लिंकमा गएर विद्यार्थीले आवेदन दिन सक्ने भएका छन् ।

चीन तथा अन्य मुलुकमा अध्ययनरत नेपाली विद्यार्थीले महामारीले इन्टर्नसिप गर्न नपाएपछि नेपालमा नै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन्। सरकारले सन् २०१४ ब्याचका लागि इन्टर्नसिप गराउने निर्णय गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ।

सन् २०१५ ब्याचमा कति विद्यार्थी छन् भन्ने यकिन तथ्यांक नभएपछि सरकारले आवेदन मागेको हा । सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको थियो।

इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न पत्राचार गर्ने निर्णय पनि भएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वको बैठकले भदौ २३ गते प्राडा दिलिप शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर