कार्यकाल सकिने बेला महोत्तरीको वडामा पुनः मतगणनाको आदेश – Nepal Press

कार्यकाल सकिने बेला महोत्तरीको वडामा पुनः मतगणनाको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को मतगणना पुनः गर्न आदेश दिएको छ । निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुनः मतगणनाको लागि उच्च अदालतले आदेश दिएको हो ।

२०७४ असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिनै लाग्दा पुनः मतगणनाको आदेश आएको छ । उच्च अदालत जनकपुरका न्यायाधीशहरू हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले कात्तिक ७ गर्ते बिहान ११ बजेदेखि मतगणना गर्न आदेश गरेको हो ।

सो वडामा अध्यक्षको प्रत्याशी रहेका रमेश रायले दायर गरेको रिटमा २१ असार २०७५ मै उच्च अदालतले पुनः मतगणनाको आदेश दिएको थियो । सर्वोच्च अदालतले सो आदेश २०७७ चैत ६ गते सदर गरेको भए पनि कार्यान्वयन नभएपछि उच्चले पुनः आदेश गरेको हो । सो वडाको अध्यक्षमा नेपाली कांग्रेसका अरुणकुमार चौधरी निर्वाचित भएका थिए ।

स्वतन्त्र उम्मेदवार राय र चौधरीको समान ६७ मत आएपछि गोलाप्रथा गरिएको थियो । रायले बदर हुनुपर्ने मतपनि चौधरीको पक्षमा गणना भएको भन्दै मुद्दा दाय गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर