अफगानिस्तान र म्यानमारका जनताको अधिकार सुनिश्चित गर्न आग्रह – Nepal Press
राष्ट्रंघीय महासभामा नेपालको सम्बोधन

अफगानिस्तान र म्यानमारका जनताको अधिकार सुनिश्चित गर्न आग्रह

कोभिड खोपको समानुपातिक वितरणमा जोड

न्यूयोर्क । नेपालले अफगानिस्तान र म्यानमारसहितका द्वन्द्वग्रस्त मुलुकको परिस्थितीप्रति चासो व्यक्त गर्दै त्यहाँका नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको सुरक्षा र मानवअधिकार स्थितीप्रति चासो व्यक्त गरेका हुन् ।

ती मुलुकहरुमा शान्ति, स्थायित्व, सुरक्षा र आधारभूत अधिकारहरु तथा नागरिक स्वतन्त्रताको सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् । परराष्ट्रमन्त्रीले नेपालले सबै किसिमका आतंकवादको अन्त्य हुनुपर्ने भन्दै आणविक निशष्त्रीकरण गर्नुसमेत बताए ।

नेपालले शान्ति, सुरक्षा, निष्शत्रीकरण, आतंकवाद, मानवअधिकार, दिगो विकास, जलवायु परिवर्तनजस्ता मुद्दामा आफ्नो स्पष्ट दृष्टिकोण राखेको समेत उनले बताए ।

कोभिडविरुद्धको खोप वितरणमा समानता अपनाउन समेत नेपालले महासभामार्फत धनी मुलुकहरुलाई आग्रह गरेको छ । खोपलाई नागरिकको अत्यावश्यक वस्तुको रुपमा घोषणा गर्न समेत नेपालले आग्रह गरेको छ ।

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको प्रतिबद्धता स्पष्ट पार्दै उनले जलवायु लक्ष्यलाई हासिल गर्न विकसित मुलुकहरुले विपन्न मुलुकहरुलाई आर्थिक तथा प्राविधिक सहायता गर्नुपर्ने धारणा समेत राखे । सन् २०३० सम्म नेपालले कार्बन उत्सर्जनलाई निकै घटाइसक्ने उनले बताए ।

सम्बोधनमा परराष्ट्रमन्त्री खड्काले सन् २०२६ मा अल्पविकसित मुलुकबाट हुने नेपालको स्तरोन्नतीले संरचनात्मक रुपान्तरणमा भूमिका खेल्ने बताए । ऋण सहायतामा राहत दिएको भन्दै खड्काले अन्तर्राष्ट्रिय मुद्रा कोष र जी–ट्वान्टीलाई समेत धन्यवाद दिए ।

सम्बोधन पश्चात खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले राष्ट्रसंघ मुख्यालयमा उपमहासचिव अतुल खेरसँग शान्ति सेनाको भूमिका र तयारीबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले बहराइनका समकक्षी रसिद अल जायनीसँग भेटवार्ता गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर