भरतपुरमा ‘तीन रात, चार दिन टुर प्याकेज’, के छ टुर प्याकेज? – Nepal Press

भरतपुरमा ‘तीन रात, चार दिन टुर प्याकेज’, के छ टुर प्याकेज?

चितवन । भरतपुर महानगरले टुर प्याकेजलाई निरन्तरता दिन आग्रह गरेको छ । स्थगित हुन पुगेको भ्रमण वर्ष २०२० का लागि महानगरले तयार पारेको ‘तीन रात, चार दिन टुर प्याकेज’ लाई लागू गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेको छ ।

भरतपुर महानगरका मेयर रेनु दाहालले भरतपुर महानगरमा रहेका २८ गन्तव्यलाई ७ प्वाइन्टमा विभाजन गरि तयार पारिएको टुर प्याकेज लागू गर्न आग्रह गरिन् ।

‘कोभिडले पर्यटन व्यवसाय ठप्प बन्यो, तर अहिले विस्तारै खुल्दै छ’, उनले भनिन्, ‘खोप अधिकाँसले लगाएका छन्, अब टुर प्याकेज चलाउने गरी निजी क्षेत्र लाग्नुपर्छ ।’

महानगरले छिटै होटल व्यवसायी, निजी क्षेत्र, स्थानीय गन्तव्य क्षेत्रका स्थानीयसँग सहकार्य गरेर भरतपुर घुमौँ अभियान चलाइने योजना रहेको बताइन् । मेयर दाहालले हरेक टोल घुम्ने गन्तव्यका रुपमा विकास गर्न पार्क, खेल मैदान र गन्तव्य पुग्ने गरी सडक स्तरोन्नतीका काम अभियानका रुपमा अगाडी बढाइएको बताइन् ।

नारायणी नदी किनारलाई सीबीच मोडेलमा समेत विकास गरिने बताइन् । पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनका ६२ गन्तव्य मध्ये २८ गन्तव्य महानगरभित्रै रहेकाले टुर प्याकेज कार्यान्वयन गर्न सहज हुने बताए । ‘गत वर्ष बनाएको टुर प्याकेज कोभिडले रोकियो, अब पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ”, उनले भने, “गन्तव्य पुस्तिका मार्फत प्रचारप्रसार तीव्र पार्नुपर्छ ।’

उनका अनुसार पहिलो दिन भरतपुरको बागेश्वरी, देवघाट, गणेशधाम, नवलपुरको सिजी, मौलाकालिका, दोस्रो दिन भरतपुरको बिसहजारी ताल, कसरा पटिहानी क्षेत्र, तेस्रो दिन मेघौली, गोलाघाट क्षेत्र घुम्ने र चौथो दिन भरतपुर–२९ चौकीडाँडा घुम्ने गरी टुर प्याकेज बनाइएको बताए । होटल व्यवसायी महासंघ नेपालका बरिक्ष् उपाध्यक्ष दिनेश कुमार चुकेले भरतपुर क्षेत्रमा दैनिक १० हजार पर्यटकलाई बास दिने संरचना तयार भैसकेको बताए ।

महानगर क्षेत्रमा पर्यटकीय स्तरका १ सय ५० होटलहरु छन् । “स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन तयार छौँ, उनले भने, ‘महानगर क्षेत्रका गन्तव्य घुमाउने गरी छिटै जीप सफारी चलाउने योजना छ ।’ पर्यटन तथा होटल व्यवसायीले टुर प्याकेज तथा चाडपर्व लक्षित छुटका कार्यक्रम ल्याउने गरी छलफल चलाउने बताए ।

यसैबीच, चितवन पर्यटन विकास समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर भरतपुर–१५ र १६ मा पर्ने ज्ञानेश्वर सामुदायिक वनमा वृक्षारोपण, सरसफाई तथा गन्तव्य प्रर्वद्धन कार्यक्रम गरिएको थियो । वनका अध्यक्ष राजन अधिकारीले ज्ञानेश्वर सामुदायिक वनलाई सहिद पार्कका रुपमा विकास गर्न लागिएको बताए ।

‘सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई सम्झने पार्क बनाउँदैछौँ’, उनले भने, ‘पर्यटकहरु पर्यापर्यटनमा पनि रमाउन पाउनेछन् ।’

सो सामुदायिक वनमा ओपन जु, एक दर्जन पिकनिक स्पटस्, इको पार्क लगायतका घुम्ने ठाउँहरु छन् । २ सय २५ हेक्टरमध्ये १९ हेक्टरमा पर्यटनका गतिविधिहरु सञ्चालनमा छन् । जंगली जनावर तथा चराचुरुङगी अवलोकन गर्न पर्यटक ज्ञानेश्वर वन आउने गर्छन् । नारायणगढ पुलचोकबाट करिब ८ किमि पर रहेको छ ।

कोभिड–१९ पहिले यो वनमा दैनिक १ हजार जना घुम्न आउने गर्थे । सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष सुरवीर पोखरेलले सामुदायिक वनहरुमा पर्यटन गतिविधिहरु बढ्न थालेको बताउँछन् । ‘सामुदायिक वनहरु घुम्ने गन्तव्य बनेका छन्’, उनले भने, ‘केही पूर्वाधारमा लगानी गर्न सके पर्यटक आकर्षित हुनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *