दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ शुरु (भिडिओ) – Nepal Press

दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ शुरु (भिडिओ)

काठमाडाैं । दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका बिभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केहि वर्षदेखि दशैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छोड्नेको संख्या कमहुने आँकलन गरिएको छ ।

टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रीम टिकट बुकिङ खुला नगरिएको भएपनि यसवर्ष भने समयमा नै अग्रीम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरु थप्दै जाने बताए ।

नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने बताउनु भयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर