कर्णालीका नागरिकले पाएनन् नयाँ नोट, बैंकहरु भन्छन्– राष्ट्रबैंकले दिएको छैन – Nepal Press

कर्णालीका नागरिकले पाएनन् नयाँ नोट, बैंकहरु भन्छन्– राष्ट्रबैंकले दिएको छैन

सुर्खेत । नेपाल राष्ट्रबैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । तर कर्णाली प्रदेशका कुनै पनि बैंकमा अहिलेसम्म नयाँ नोट पाउन नसकेको गुनासो नागरिकले गरेका छन् ।

प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरका बैंकहरुमा नयाँ नोट साँट्न आउनेको संख्या बढ्न थालेको छ । बैंकहरु नयाँ नोट अहिलेसम्म नआएको जवाफ दिँदै सेवाग्राहीलाई फर्काउने गरेका छन् ।

समाचारमा एक जनाले १८ हजा ५०० रुपैयाँसम्मको नयाँ नोट पाउने सुनेको थिएँ । नयाँ नोट लिन बैंक गएको छैन भनेर फर्काइदियो,’ सुर्खेतको चौकुने गाउँपालिकाका कलम थापाले गुनासो गरे ।

राष्ट्रिय वाणिज्य वैंक वीरेन्द्रनगर शाखाका प्रवन्धक जयप्रकाश खनालले पनि वैंकमा पैसा नआएको बताए । उनले पैसा आएको खण्डमा आफुहरु सेवाग्राहीलाई दिन तयार रहेको बताए । ‘वैंकमा आउने हरेक सेवाग्राहीले नयाँ नोट खोजिरहेका छन् । हामीले आएको छैन भनेर फर्काउनु परेको छ,’ उनले भने ।

नेपाल इन्भेष्टमेन्ट वैंक सुर्खेत शाखाका प्रवन्धक राजेन्द्रबहादुर सिंहले पनि नयाँ नोट बैंकमा आइनपुगेको बताए । ‘यहाँ राष्ट्र वैंकको कार्यालय मात्रै छ । वैंकिङ कारोवार सुरु भएको छैन । हामीले नेपालगन्ज शाखामा नयाँ नोटका लागि आग्रह गरेका छौं । हालसम्म पाएका छैनौं,’ उनले भने ।

राष्ट्र वैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्दै आइरहेको छ । नेपाल राष्ट्र वैंकका सूचना अधिकारी देवकुमार ढकालसँग यसबारेमा कुरा गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर