भदौ महिनामा मात्रै करिव ४ हजार अपराधका घटना प्रहरीमा दर्ता (विवरणसहित) – Nepal Press

भदौ महिनामा मात्रै करिव ४ हजार अपराधका घटना प्रहरीमा दर्ता (विवरणसहित)

७६ प्रतिशत अभियुक्त पक्राउ, २४ प्रतिशतको खोजी कार्य जारी

काठमाडौं । भदौ महिनामा मात्र नेपाल प्रहरीका सबै निकायमा गरेर करिव ४ हजार अपराधका घटना दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८-०७९ को भदौ महिनाको मासिक कार्य प्रगति विवरण अनुसार एक महिनाको अवधिमा मात्र ३ हजार ९ सय ८ वटा अपराधका घटना दर्ता भएका हुन् ।

विवरण अनुसार भदौ महिनामा दैनिक रुपमा एक सय २६ वटा मुद्दा दर्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तुलनामा भन्दा मुद्दा दर्ता संख्या भने यस महिना शुन्य दशमलव २० घटेको छ । उनका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को भदौ महिनामा २ हजार ८ सय ३७ वटा अपराधा घटना दर्ता भएका थिए । चालू आर्थिक वर्षको भदौ महिनामा गत आर्थिक वर्षको तुलनामा भदौ महिनामा भन्दा २७ प्रतिशतले मुद्दा दर्ता संख्या बढेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ९ सय ६६ वटा अपराधका घटना दर्ता
महिनाभरि दर्ता भएको घटनाको तथ्यांक अनुसार सबैभन्दा धेरै घटना काठमाडौं उपत्यकामा ९ सय ६६ वटा अपराधका घटना दर्ता भएका छन् । जसमा केन्द्रीय अनुसन्धान व्यूरोमा दर्ता भएका २ वटा घटना पनि जोडिएका छन् । तर सबैभन्दा कम भने कर्णाली प्रदेशमा १ सय ३३ वटा घटना मात्रै दर्ता भएका छन् । काठमाडौं उपत्यकामा मात्र मुलुकभरका भइरहेका कुल अपराधको २४ दशमलव ७१ घटना दर्ता भएका छन् ।

करिव १५ सय जना अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
भदौ महिनामा एक हजार ४ सय ४४ जना अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश १ बाट सबैभन्दा धेरै ४ सय ५९ जना पक्राउ परेका छन् । साउन महिनामा भन्दा भदौ महिनामा अदालती फैसला कार्यान्वयन २९ प्रतिशतले बढेको छ । भदौ महिना भरी पक्राउ परेका एक हजार ४ सय ४४ जना अभियुक्तलाई जम्मा गरेर ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ भने जरिवाना बापत ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ विगो रकम असुल गरिएको छ ।

विभिन्न शिर्षकमार्फत ३४ करोड भन्दा बढी राजस्व संकलन
यस्तै विभिन्न शीर्षक मार्फत जम्मा एक महिनाकै अवधिमा ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजस्व पनि प्रहरीले संकलन गरेको छ । साउन महिनामा संकलन भएको ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ भन्दा यो महिनामा ६ प्रतिशतले कमी हो ।

एक महिनामा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु
भदौ महिनामा भएका एक हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर ५ सय १५ जना गम्भीर घाइते समेत भएका छन् । भदौ महिनामा सबैभन्दा धेरै उपत्यकामा मात्र ८ सय ४६ वटा दुर्घटना भएको र सबैभन्दा धेरै प्रदेश एकमा र प्रदेश २ मा बराबर ३७-३७ जनाको मृत्यु भएको छ । साउन महिनाको तुलनामा भदौ महिनामा दुर्घटना संख्या एक प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या ६ प्रतिशतले कमी आएको छ । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना भएका छन् ।

३०४ लागू औषध अपराध सम्बन्धी मुद्दामा संलग्न ४७५ जना पक्राउ
प्रहरी प्रधान कार्यालयका अनुसार भदौ महिनामा जम्मा ३ सय ४ वटा लागू औषध अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् । ति अपराधमा संलग्न ४ सय ७५ जना मानिस पक्राउ परेका छन् । लागू औषधको मुद्दा दर्ता संख्या साउन महिनाको तुलनामा भदौमा प्रतिशतले घटेको र मानिस पक्राउ पनि १४ प्रतिशतेल घटेको छ ।

भदौ महिनामा प्रति दिन सरदर ९ वटा लागू औषधका मुद्दा दर्ता हुने गरेकोमा औसत १५ जना मानिस दैनिक रूपमा पक्राउ परेका छन् । भदौ महिनामा नै लागू औषध गाँजा ७ सय ९० किलो, चरेश ३ हजार ६ सय २ किलो, हेरोइन ७ सय ५४ ग्राम, अफिम २ किलो र कोकिन २ दशमलव ९६ किलो बरामद भएको छ । भदौ महिनामा नै ४८ नाल हातहतियार र विभिन्न हतियारमा लाग्ने २० राउण्ड गोली र ३ थान म्यागजिन पनि बरामद भएको छ । यसमा संलग्न २६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यानका ३८ वटा घटना भएका छन् । जम्मा घटना शुन्य दशमलव ९७ प्रतिशत रहेको छ । हातहतियार तथा खरखजाना सम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसार १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ४ सय ८१ वटा घटनामध्ये झुन्डिएर ३ सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर एक, हातहतियार औजारबाट एक र आगो लगाएर एक जनाले ज्यान गुमाएका छन् ।

७६ प्रतिशत अभियुक्त पक्राउ, २४ प्रतिशतको खोजी कार्य जारी
भदौ महिनामा दर्ता भएका कुल ३ हजार ९ सय ८ वटा अपराधमा ४ हजार ८ सय २६ अभियुक्त पक्राउ परेका छन् । जसमा ४ हजार ४ सय ९१ पुरुष रहेका छन् भने ३ सय ३५ जना महिला रहेका छन् । ति मध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् । साउन महिनामा ४ हजार नौ सय २ जना अभियुक्तमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् । समग्रमा ७६ प्रतिशत अभियुक्त पक्राउ परेका र बाँकी २४ प्रतिशतको खोजी भइरहेको जनाइएकाे छ ।

भदौ महिनाभरी ६ सय २४ विपद्का घटनाबाट ६५ जनाले ज्यान गुमाएका छन् भने एक सय ९ जना घाइते भएका छन् । पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट ३ र अविरल वर्षाबाट एक जनाको मृत्यु भएको छ । विपद्का घटनाको प्रतिकार्यमा ३ हजार ९ सय ८१ जना प्रहरी कर्मचारी परिचालन थिए ।

नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ बिरुद्दको खोप लगाउने कार्यक्रममा भेरोसिल लगाउनेको संख्या ५ हजार ८ सय ४८ जना, कोभिसिल्ड लगाउने १ हजार ५ सय ९६ जना र जोनसोन एण्ड जोनसोन लगाउने ८ हजार १९ जना गरी जम्मा १५ हजार ४ सय ६३ जनाले खोप लगाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *