कांग्रेसको पालिका अधिवेशन: तल गुट भत्किदै, माथि गुटकै हिसाबकिताब – Nepal Press

कांग्रेसको पालिका अधिवेशन: तल गुट भत्किदै, माथि गुटकै हिसाबकिताब

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनका मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि पालिका अधिवेशन सुरु भएको छ । प्रारम्भिक नतिजामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा भइरहेको छ । काठमाडौं, ललितपुर र विराटनगर जस्ता धेरै मतदाता भएका महानगरपालिकामा अधिवेशन भएका छैनन् ।

ललितपुरमा सोमबार अधिवेशन प्रारम्भ हुनेछ भने काठमाडौंमा असोज १६ गते अधिवेशन तोकिएको छ । त्यस्तै विराटनगरमा असोज १५ गते अधिवेशन हुनेछ । अधिवेशन भएका मध्ये पोखरा महानगरपालिकामा संस्थापन इतर समूहका सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । वरिष्ठ नेता पौडेलनिकट उनले संस्थापन पक्षका उम्मेदवार गगांधर पराजुलीलाई पराजित गरेका हुन् । भरतपुर महानगरपालिकामा संस्थापन पक्षका २ र इतरपक्षका ३ जना गरी सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसको परिणाम यो समाचार तयार पार्दासम्म आएको छैन ।

तल पुग्दा गुट भत्कियो

कांग्रेसको पालिका अधिवेशनको प्रतिस्पर्धालाई आधार मान्दा अधिकांश पालिकामा केन्द्रको गुट अनुसार निर्वाचन भएको छैन । स्थानीय वस्तुस्थिति अनुसार तालमेल भएको देखिन्छ । अधिवेशनमा खटिएका कांग्रेस कार्यकर्ताहरु केन्द्रको गुटभन्दा जिल्लाको आवश्यकता हेरेर प्रतिस्पर्धा भइरहेको बताउँछन् । ‘केन्द्रमा हामी पौडेल पक्षका हौं तर जिल्लामा अर्जुन जोशीको साथमा छौं । अर्जुन दाई देउवा टिममा भएपनि यहाँ मिलेर लड्नु हाम्रो आवश्यकता हो’, पर्वतका एक कांग्रेस नेताले भने । केन्द्रीय नेताको प्रभाव भएका अधिकाशं नगरमा केन्द्रको गुटभन्दा स्थानीय अवस्था अनुसार सहकार्य भएको देखिन्छ ।

चितवनको ७ वटा पालिकामध्ये सबै जसोमा ‘मिक्स प्यानल’ बनेको छ । परिणाम आएका ५ मध्ये १ मा संस्थापन पक्ष र ४ मा पौडेल पक्षले जित हासिल गरेका छन् । पदाधिकारीमा भने परिणाम मिश्रित रहेको कांग्रेस नेताहरु बताउँछन् । कतिपय जिल्लामा एकै गुटका दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । कञ्चनपुरका सबैजसो पालिकामा संस्थापन पक्षका नेता एनपी साउद र रमेश लेखकको गुटबीच आपसमा प्रतिस्पर्धा भएको छ । जसको फाइदा लिदैं पौडेल पक्ष केही पालिका र पदाधिकारीमा निर्वाचित हुन सफल भएको छ ।

आधार क्षेत्र कस्दै नेताहरु

कांग्रेसका अधिकांश केन्द्रीय नेताहरु आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्र अन्तर्गतको पालिकामा प्रभुत्व जमाउन कस्सिएका छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अर्को पक्षले अधिवेशन गरेपनि निर्वाचन सम्पन्न भएको छ । जसबाट सबै पालिकामा देउवानिकट नेता सभापति निर्वाचित भएका छन् । अर्घाखाँचीमा भने सभापति देउवा पक्ष नील भएको छ । जिल्लाका सबै पालिकामा संस्थापन इतर समूहको नेतृत्व स्थापित भएको छ । ओखलढुंगाका आठ मध्ये ५ पालिकामा सहमति भएको छ । जसमध्ये ३ मा देउवा पक्ष र २ मा पौडेल पक्षको नेतृत्व स्थापित भएको छ । निर्वाचन भएका तीनवटै पालिकामा भने देउवा पक्षका उम्मेदवार बिजयी भएका छन् ।

हिसाबकिताबमा नेताहरु

कांग्रेसको पालिका अधिवेशनमा मतदाताका रुपमा क्षेत्रीय प्रतिनिधिहरु रहेका हुन्छन् । तिनै क्षेत्रीय प्रतिनिधिहरुले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय नेतृत्वका लागि दौडमा रहेका नेताहरु महाधिवेशन प्रतिनिधि र पालिका नेतृत्व छान्ने मतदाता एकै भएकोले सूक्ष्म विश्लेषणमा छन् ।

पालिका अधिवेशनको परिणामबाट सम्बन्धित जिल्लामा आफ्नो पकड रहने नरहने संकेत मिल्ने नेताहरुको भनाई छ । ‘गाउँ नगरमा भोट हाल्ने र महाधिवेशन प्रतिनिधि छान्न भोट हाल्न मत हाल्ने व्यक्ति एकै हुन् । त्यसैले यो अधिवेशनबाट को को कति बलियो छ भन्ने स्पष्ट हुन्छ । त्यसैले हरेक पालिकाको परिणाम चासोका साथ हेरेका छौ’, एक कांग्रेस नेताले भने । ती नेताका अनुसार बढी महाधिवेशन प्रतिनिधि आउने जिल्लामा अधिवेशन बाँकी नै रहेकोले क्षेत्रीय तहसम्मको अधिवेशन सबै जिल्लामा सम्पन्न भएपछि मात्रै खास संकेत देखिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर