उज्ज्वलको मृत्यु होइन हत्या हो, जवाफदेही सरकार कि ठेकेदार ? – Nepal Press

उज्ज्वलको मृत्यु होइन हत्या हो, जवाफदेही सरकार कि ठेकेदार ?

बारुदी सुरुङविरुद्धकी अभियन्ता पूर्णशोभा चित्रकारले गत मंगलबार फोन गरेर द्वन्द्वपीडितहरूको भेलाको जानकारी दिइन् । उनको फोन काटिएलगत्तै कपनबाट फोन आयो-मिनलचोकको ढलमा एकजना मान्छे खस्यो, मुसलधारा वर्षाका कारण खोज्न पनि कठिन भयो ।

पूर्णशोभाले भनेको बारुदी सुरुङ युद्धकालमा राज्य र माओवादी दुवै पक्षले एक अर्काविरुद्ध राखेका हुन्थे । त्यसमा कतिपय निर्दोष मान्छे परेर ज्यान गुमाउँथे र अंगभंग हुन्थे । कपनको घटना पनि राज्यले थापेको त्यस्तै एउटा एम्बुसअर्थात धराप हो ।

त्यसको एक दिनअघिमात्र अर्थात सोमबार जोरपाटीको माकलबारीमा पनि त्यस्तै घटना भएको थियो । एकजना महिला अँध्यारोमा हिँडिरहेका बेला ढलभित्र खसिन् र फर्किएर आउन सकिनन् ।

उसले बाँच्नका लागि कति संघर्ष गर्‍यो होला । मलाई बचाऊ भन्दै हजुरबुबा गुहार्‍यो होला । निसास्सिएर कति पीडा खेप्यो होला ? एउटा निर्दोष बच्चाको मृत्यु उफ् कति कष्ठसाध्य मृत्युवरण भयो । सोचौं त एकछिन,राज्यले थापेको धरापमा परेर त्यो परिवारको मुटुको टुक्रा कसरी चुँडियो ?

आज (आइतबार, असोज १०) बिहानै खबर आयो, कपनको ढलमा खसेका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुर र मकवानपुरको सिमानामा वागमती नदी किनारामा भेटियो । शव गलिसकेकाले उनले लगाएको लुगामा कपन मावि लेखेको आधारमा उनै हुन् भन्ने आशंकामा प्रहरीले परिवार बोलायो ।

समाचार लेख्दै गर्दा एकाएक त्यो मंगलबार साँझको दृष्य मानसपटलमा आयो । नेपालप्रेसकर्मी शर्मिला पण्डित र सरोज बैजुले कपन पुगेर उज्ज्वलका शोकाकुल परिवार र घटनास्थलबाट गरेको रिपोर्टिङ पढ्दाखेरी नै आँशु रोक्न सकिएको थिएन ।

आज कपन माविको शर्टसहित उज्ज्वलको शव वागमती खोँचमा भेटिएको खबरभन्दा पीडा, त्यो साँझ उनले अन्तिम स्वास लिनुअघि कति संघर्ष गरे होलान् ? दर्के झरीकाबीच हजुरबाबुको हात समातेर हिँडिरहेका उनी अचानक राज्यले धरापका रूपमा खुला राखेको ढलमा खसे ।

वरिपरि मान्छेहरू जम्मा भए तर कोही उनलाई बचाउन सक्ने अवस्थामा थिएनन् । १० वर्षको त्यो अवोध बच्चा चिच्याउँदै ढलको बेगमा हुत्तियो । एकछिनमै उसको चिच्याहट पनि सुनिन छाड्यो । उसले बाँच्नका लागि कति संघर्ष गर्‍यो होला ।

हामी भन्छौं, राज्य र ठेकेदारको लापरवाहीका कारण ढलमा खसेर वा खाल्डोमा परेर कुनै नागरिकको ज्यान जान्छ भने त्यो भवितव्य होइन हत्या हो । यो हत्याका जिम्मेवारलाई कानूनी कारवाहीमा दायरमा नल्याउने हो भने यस्ता धेरै अमूल्य जीवन यसैगरी वागमतीका खोँचमा भेटिन्छन् ।

मलाई बचाऊ भन्दै हजुरबुबा गुहार्‍यो होला । निसास्सिएर कति पीडा खेप्यो होला ? एउटा निर्दोष बच्चाको मृत्यु उफ् कति कष्ठसाध्य मृत्युवरण भयो । सोचौं त एकछिन,राज्यले थापेको धरापमा परेर त्यो परिवारको मुटुको टुक्रा कसरी चुँडियो ?

११ महिनाको हुँदा आमाले छाडेर अन्तै हिँडिन् । बुबा त्यसपछि बेपत्ता भएका थिए । जन्माउने बाउआमाको माया के हो थाहै नपाएका उज्ज्वलले हजुरबुबा, हजुरआमा र फुपूको सहारामा जीवन बुझ्न नपाउँदै राज्यले थापेको धरापमा परेर बाच्न पाउने मौलिक हक गुमाए ।

हो, यति ठोकुवाका साथ भन्न सकिन्छ-उज्ज्वलको हत्यारा यो राज्य हो । उनको मृत्यु होइन हत्या भयो । राज्यले थापेको एम्बुसमा १० वर्षका बालक परे । नेपालको संविधानले ग्यारेन्टी गरेको बाच्न पाउने हक राज्यले खोस्यो ।

उज्ज्वल ढलमा खसेको घटनाले जति व्यापकता पायो, उनीभन्दा अघि यसैगरी राज्यले थापेका धरापमा परेर धेरैको गुमनाम अन्त्य भयो । माकलबारीमा यसै साता ढलमा खसेकी महिलाको शव वागमतीमा भेटियो भन्ने बाहेक अरु कुनै अनुगमन भएन ।

राजविराजमा एकजना इन्जिनियर नै ढलमा खसेर बेपत्ता भए र केहीपछि शव भेटियो । पछिल्लो आँकडाअनुसार राजधानी काठमाडौंमै १५ जनाले यस्तै धरापमा परेर ज्यान गुमाइसकेका छन् । देशभरको आँकडा अझ कहालीलाग्दो छ ।

तीन वर्षअघि यस्तै बेला तारकेश्वर नगरपालिकाकी १० वर्षीया बालिका विनिता फुँयाल सबैले हेर्दाहेर्दै ढलमा खसिन् । स्कूलबाट फर्किएकी उनी त्यसपछि कहिल्यै नफर्किने गरी नालीमा विलाइन् ।

राज्यका लागि विनिता वा उज्ज्वल एक नागरिक हुन् । तर, तीनका परिवारको लागि सिंगो संसार हुन् । बिनाकुनै अपराध राज्यले थापेका धरापमा परेर सिंगो संसार उजाडिँदा पीडित परिवारले न्याय खोज्न कुन अदालतमा जाने ? अब यस्ता हत्याकाण्डमा जवाफदेहीता खोज्नैपर्छ ।

ठेकेदारले काम सम्पन्न नहुन्जेल यस्ता खाल्डा र धरापहरुलाई मानवीय क्षति हुन नसक्ने गरी सुरक्षित ढंगले घेरेर राख्ने प्रविधिहरू छन् । कपनको त्यो ज्यानमारा ढललाई चारैतिरबाट बारेर राखेको भए आज उज्ज्वल हजुरबुबा-हजुरआमाको काखबाट खोसिने थिएन ।

हामी भन्छौं, राज्य र ठेकेदारको लापरवाहीका कारण ढलमा खसेर वा खाल्डोमा परेर कुनै नागरिकको ज्यान जान्छ भने त्यो भवितव्य होइन हत्या हो । यो हत्याका जिम्मेवारलाई कानूनी कारवाहीमा दायरमा नल्याउने हो भने यस्ता धेरै अमूल्य जीवन यसैगरी वागमतीका खोँचमा भेटिन्छन् ।

कपनको ढल ३ वर्षदेखि निर्माणाधीन छ । ठिक छ,हाम्रो काम गर्ने प्रणालीनै ढिलासुस्ती भएकाले समयमै काम सकिएन भन्न पाइन्छ । तर यस्ता धराप खुला छाडेर निर्दोष नागरिकको हत्या गर्नेलाई उन्मुक्ति दिन पाइँदैन ।

ठेकेदारले काम सम्पन्न नहुन्जेल यस्ता खाल्डा र धरापहरुलाई मानवीय क्षति हुन नसक्ने गरी सुरक्षित ढंगले घेरेर राख्ने प्रविधिहरू छन् । कपनको त्यो ज्यानमारा ढललाई चारैतिरबाट बारेर राखेको भए आज उज्ज्वल हजुरबुबा-हजुरआमाको काखबाट खोसिने थिएन ।

विनिता फुयाँल सायद एसईई पास गरेर कलेजमा भेटिने थिइन् । तरकारी किन्न गएकाहरू, स्कूलबाट फर्किएकाहरू गन्तव्यमा नपुग्दै राज्यको धरापमा पर्छन् । यो अपराधको जवाफदेही कसलाई बनाउने ? बहस गर्न ढिलाइ भइसकेको छ ।

यदि कुनै व्यक्तिले हत्या गर्‍यो भने उसलाई कानूनले सजाय दिन्छ, दर्जनौं उज्ज्वल र विनिताहरूका हत्यारालाई किन उन्मुक्ति ? कानूनमा कमजोरी छन् भने संसदमा बहस गरौं, होइन भने खुला धरापमा अवोधको ज्यान लिने घटनामा कसलाई जिम्मेवार बनाउने हो ? तत्काल दोषीमाथि कारवाही हुनुपर्छ । नत्र उज्ज्वल र विनिताहरूको मृत्यु ढलका कीराहरूको जस्तै मूल्यहीन हुनेछ र हामी सबै उनीहरूका हत्यारा सावित हुनेछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर