न्याय खाेज्न नेपालगन्जबाट काठमाडौंसम्मकाे पैदलयात्रा – Nepal Press

न्याय खाेज्न नेपालगन्जबाट काठमाडौंसम्मकाे पैदलयात्रा

नवौं दिनमा बुटवल आइपुगे, मुख्यमन्त्री कार्यालय अगाडि धर्न जारी

रुपन्देही । साउन ५ मा बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत भेटिइन् । झुन्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धानै नगरेर आत्महत्या भनिदिएको भन्दै उनको माइती पक्षको निरन्तर आन्दोलन शुरु गरेको छ ।

१९ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिँदा कतैबाट सुनुवाई नभएपछि असोज १ गतेदेखि न्यायको खोजीमा काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । बाँकेबाट हिडेको ९ दिनमा उनीहरु हिजो साँझ बुटवल आइपुगेका छन् ।

अहिले नेपालगन्जबाट उनीहरु १४ जनाको टोली न्यायको खोजीमा पैदलयात्रामा छन् । शनिबार बुटवलमा आइपुगेको यो टोलीले लुम्बिनीका मुख्यमन्त्री कार्यालयमा धर्ना शुरु गरेको छ ।

प्रहरीले न्यायसंगत छानबिन नगरेको भन्दै नेपालगन्जका महिलाहरू न्याय माग्न पैदल काठमाण्डौंको यात्रा तय गरेका उनीहरुको भनाइ छ । काठमाडौं पुगेर थप आन्दोलन गर्ने अधिकारकर्मी रुबि खानले बताइन् ।

एकल महिला निर्मला कुर्मी गतवर्ष मंसिरमा बेपत्ता भइन् । १६ मंसिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भैसकेको बताइएपछि यी दुई शंकास्पद मृत्युको अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् । सम्पत्ति हडप्नको लागि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको खानले बताए ।

मृतकका भाइ माताप्रसाद धोबी र मृतकका बहिनी शिला धोबीले दिदीको हत्यापछि पटकपटक न्याय माग्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा गएको र यसको कुनै पनि सुनुवाई नभएपछि पुनः बाँके जिल्ला प्रशासनमा १९ दिनसम्म पनि धर्ना बसेको बताए । तर जिल्ला प्रशासन कार्यालयले कुनैपनि न्याय नदिएपछि असोज १ गते बाँके जिल्लाको जिल्ला प्रशासन गेट अगाडिबाट पैदलयात्रा हिंडेको उनले बताए ।

न्याय माग्न हिडेकी सकिना तेलीले नौ दिनसम्म हिड्दा खुट्टामा घाउ भइसकेको बताइन् तर आफूहरुले हिम्मत नहारेकाे उनकाे भनाइ छ । उनीहरुले आजबाट लुम्बिनी प्रदेश कार्यालयमा धर्ना दिने दिने र दुई दिनपछि काठमाडौंतर्फ जानेछन् । काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर