समयमै उपचार गरे निको हुन्छ क्यान्सर – Nepal Press
क्यान्सर सतर्कता दिवस

समयमै उपचार गरे निको हुन्छ क्यान्सर

चितवन । ‘क्यान्सर’ झट्ट सुन्दा जोकोही डराउँछन् । यो रोग लागेपछि मृत्यु भईहाल्ने धेरैको बुझाई छ । तर, बेलैमा उपचार भए क्यान्सर रोग निको हुनसक्छ । नेपालमा आज १७ औंँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदै छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनको सम्झनामा दिवसकै रुपमा मनाउन थालिएको हो ।

देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिएका छन् । करिब ६० प्रतिशत क्यान्सरका बिरामीले यही अस्पतालको सेवा लिँदै आएको अनुमान छ । क्यान्सरको उपचार गर्न अझै करिब २० प्रतिशत बिरामी भारत लगायतका देश पुग्छन् । तर, जस्तोसुकै क्यान्सरको उपचार नेपालमै सम्भव रहेको चिकित्सकहरु दाबी गर्छन् ।

नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पीत्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन् । पुरुषहरु फोक्सो र पेटको क्यान्सरबाट बढी प्रभावित छन् । महिलाहरु पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन् ।

सम्भव छ क्यान्सरको उपचार

जति छिटो रोग पहिचान हुनसक्यो, उति उपचार सहज हुन्छ । रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम हो । जीवनशैली संयम बनाउन सकियो भने करिब ३० प्रतिशत क्यान्सरका बिरामीको संख्यामा कमी आउन सक्छन् । क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा एक तिहाई क्यान्सर सुरुमा पत्ता लगाउन सके निको पार्न सकिने बताउँछन् ।

‘बेलैमा रोग पहिचान भएमा एक तिहाईलाई रोकथाम र एकतिहाई निको नै पार्न सकिन्छ,’ उपनिर्देशक डा. शर्माले भने, ‘केही निको पार्नै नसकिने क्यान्सरलाई पनि गुणस्तरीय जीवनयापनसहित जिउने उपचारपद्धतिहरु पनि छन् ।’ दिशा–पिसाब बेलाबखत परीक्षण गर्दा मृर्गौला वा आन्द्राको क्यान्सर, इण्डोस्कोपी वा मेमोग्राफि गरेमा पेट र स्तनको क्यान्सर पत्ता लगाउन सकिन्छ ।

स्वच्छ जीवनयापन, आहारविहारमा सजग, व्यायाम, अर्गानिक भोजनमा प्रतिवद्ध बनेमा क्यान्सर लाग्नबाट बचिने उनी बताउँछन् । सुर्ती–चुरोट, रक्सी, लागुपदार्थ सेवन नगर्र्न, बासी सडेगलेको, ढुसी परेको खाना, पोलेको वा डढाएको मासु नखान आग्रह गर्छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम पहिलो चरणमै उपचार सुरु गरिए एक हप्तामै रोग निको पार्न सकिने अनुभव सुनाउँछन् । ‘क्यान्सर भए–नभएको कम्तिमा २ वर्षको फरकमा स्वास्थ्य परीक्षण गरौँ,’ उनले भने, ‘रोग जटिल हुनबाट बचाउँ, बेलैमा उपचार गरेर सहज जीवन विताउन लागौँ ।’

भरतपुर क्यान्सर अस्पतालमा ६० प्रतिशत विरामी रोग फैलिएर तेस्रो वा चौथो अवस्था पुगेपछि मात्र उपचारमा आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सरको भयावह स्थिति नियन्त्रण गर्न स्कुलमा अध्ययनरत ६ हजार बालिकालाई यही वर्ष भ्याक्सिन लगाइँदैछ ।

क्यान्सर उपचारमा २२ वर्षे यात्रा

एशियाकै नमुना अस्पतालको लक्ष्य सहित अस्पताल जन्मेको हो । चीन सरकारले बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । ७५ बिघा १० कठ्ठामा फैलिएको छ । तत्कालिन बागवानी फार्मको पुरानै भवनबाट २०५२ सालमा डे केयर सेन्टरका रुपमा सामान्य उपचार थालिएको थियो ।

२०५३ मंसीर १४ गते शिलन्यास गरियो । २०५७ असोज १० गते अस्पतालको उद्घाटन भयो । सुरुको वर्ष ७ हजार ९ सय ६४ बिरामी ओपीडी सेवा लिन आएका थिए । पाँचौँ वर्षमा ५१ हजार बिरामी आए । त्यसपछि वर्षेनी बिरामीको चाप बढ्दै गयो । १६ औँ वर्षमा १ लाख १२ हजार बढी बिरामीले सेवा लिएका छन् ।

अघिल्लो वर्ष १ लाख ४५ हजार बढीले सेवा पाएको अस्पतालमा गत वर्ष ५० हजार कम बिरामी आइपुगे । गत वर्ष ९० हजार ५ सय ७१ जना बिरामीले मात्रै सेवा लिए । जसमध्ये ४ हजार ६ सय ८ जना क्यान्सरका नयाँ बिरामी हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. गौतम भन्छन्, ‘बिरामी कोभिडका कारणले घटेको देखियो, तर अस्पतालको आम्दानी साढे १० करोड बढ्यो ।’ गत वर्ष ३९ करोड ७४ लाख अस्पतालले सेवा शुल्कबाट आम्दानी गरेको थियो । कोभिड ल्याब, एचडीयू सेवा, आईसीयू, रेडियसन सेवा विस्तार गरेपछि आम्दानी थपिएको उनले बताए । अस्पतालमा हाल ४ सय ५० शय्या छ । छिटै ५० शय्याको स्वीकृति लिने प्रक्रियामै छ । अस्पतालको जग्गामा कहिले सिटीहल कहिले वागवनी फर्म र नर्सरी बनाउने प्रक्रिया पनि अगाडी बढे ।

अबको योजना

यो अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानका रुपमा विकास गर्ने चर्चा छ । तर, भक्तपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशिल कोइराला क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने योजना अघिल्लो सरकारले ल्याएपछि चितवनबाटै विरोध सुरु भयो ।

चितवनको यो क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रुपमा परिणत गरेर लानुपर्ने माग धेरै पहिलेदेखिको हो । अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले क्यान्सरसम्बन्धी विषेशज्ञ बनाउने अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताउँछन् । ‘दक्ष जनशक्ति र धेरै बिरामीको उपचार गर्दै आएकाले अध्ययन प्रतिष्ठानको माग गरेका हौँ,’ उनले भने । सेवाप्रदायकको भूमिकामा रहेको यो अस्पताल अब क्यान्सर प्रतिष्ठान बन्ने दिन कुरेर बसेको छ ।

सेवा सुधारको प्रयास

क्यान्सरको उपचारमा पालो कुर्नुपर्ने पीडा धेरैले भोगे । सरकारी चिकित्सक भेट्न नपाएपछि कैयन बिरामी निजी अस्पताल धाउनुपर्ने परम्परानै बस्यो । विचौलिया र राजनीतिले जेलिएको क्षेत्र भनेर निकै आलोचित बनिरह्यो । पछिल्ला केही वर्षयता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुधारका प्रयासहरु देखिन थालेका छन् । गत फागुनमा स्प्याक्ट गामा क्यामरा मेसिन मर्मत पछि अवरुद्ध न्यूक्लियर मेडिसिन सेवा सुरु भयो ।

२०७६ पुसमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याइयो । पुरानो अक्सिजन प्लाण्ट विस्थापित गरेर ६ एमएम हटाएर १२ एमएमको पाईप जडान गरेर सबै अन्तरंग विभागमा पुग्ने गरी अक्सिजन पाइपलाइन विस्तार गरिएको छ । अत्याधुनिक मोलिकुलर ल्याब (प्रयोगशाला) निर्माण, थप सिटीस्क्यान मेसीन ल्याउदै छ । अस्पतालले लेजरबाट सर्जरी सेवा विस्तारको सोच लिएको छ ।

खाना नलीबाट छातीको एक्सरे गर्न मिल्ने ईबस मेसिन खरिद गरेको छ । ५० शय्याको आईसीयू सञ्चालनमा ल्याएको छ । कार्यकारी निर्देशक डा. गौतम भन्छन्, ‘उच्च गुणस्तरीय र आधुनिक शल्यक्रिया सेवानै हाम्रो लक्ष्य हो ।’ मेडिसिन बोन म्यारो ट्रान्सप्लान्ट सेवा, इन्टरभेन्सन रेडियोलोजी सेवा पनि सुरु गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर