एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने – Nepal Press

एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

सचिवालय नराख्न सुझाव

काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

१० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहको निष्कर्ष नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश र्इन्चार्जको भूमिका दिनुपर्ने रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।

अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ।

हाइप्रोफाइल नेता भएकाले उनीहरु महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।

विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो। यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो।

यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर