प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ) – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ)

नेपाल चिकित्सक संघ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ आज काठमाडौंमा भएको छ । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोरोनाभाइरस विरुद्धको खोप रहेको बताए । प्रधानमन्त्री देउवाको मन्तव्यको पूर्णपाठ :

हामी कोभिड-१९ महामारीको सामना गरिरहेका छौं। सर्वसाधारण नागरिकहरुको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त ठूलो छ। कोभिडविरूद्धको खोप विकासपश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति जस्ता कार्यहरु नै सरकारको पहिलो प्राथमिकतामा रहेको छन्।

पर्यटन, बैदेशिक रोजगार र आपूर्ति श्रृङ्खला तथा व्यापारमा देखिएको अवरोधले विपत्तिलाई झनै जटिल बनाइदिएको छ।यस संकटले विकासका योजनालाई जोखिममा पारिदिएको विद्यमान अवस्था छ।

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका सम्बन्धमा भए गरेको खोज तथा अनुसन्धानमूलक वैज्ञानिक गतिविधिहरुलाई समावेश गरी सन् १९६३ सेप्टेम्बर देखि निरन्तर रुपमा जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन गर्दै आईरहेको छ। संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी ‘PANDEMIC PREPAREDNESS IN NEPAL’ नामक सन्देशको तर्जुमा गरेर 1st NMA National Health Summit-2021 आयोजना गरेकोमा म खुसी व्यक्त गर्दछु।

नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा यहाँहरुलाई विदितै छ। कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यलाई व्यवस्थित बनाउनका लागि ऐन समेत निर्माण गरी आवश्यक कार्य अगाडी बढाईरहेको छ।

नेपाल सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, आवश्यक सामाग्रीहरुको आपूर्ति र वितरण, कोभिड-१९ संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापन लगायत सरकारले सरोकारवाला निकायहरुको समन्वयमा आईसोलेसन, क्वारेन्टिन, परीक्षण, सम्पर्क व्यक्तिको खोजी आदि कार्य निरन्तर गरिरहेको छ। कोभिड-१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखीसम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भईसकेको विद्यमान अवस्था छ। यो खोप कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धता समेत यहाँहरुलाई दिलाउन चाहन्छु।

यस शिखर सम्मेलनका लागि छनौट गरिएका बिषयवस्तुले कोभिड-१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि राज्यको तर्फबाट संचालन भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन, र भावी दिनमा अवलम्बन गर्न सकिने विशेष रणनीतिलाई मापनयोग्य र सर्वसुलभ बनाउन उल्लेख्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरुको छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाब सल्लाह नेपाल सरकारको आधिकारिक दस्तावेजको रुपमा रहन सकोस् भन्ने अपेक्षा राख्दछु।

कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहन्छ। जसरी कोभिड-१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नै किन नहोस् हाम्रो एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब प्ररास्त गर्दै आईरहेका छौं। यस्ता प्रकारका विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नु पर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको अवस्थामा नेपालको स्वास्थ्य सेवालाई हामीले परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज र पारदर्शि बनाउँदै नेपाली जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ।

कोभिड महामारीको समयमा संघले निर्वाह गरेको भूमिका प्रसंसनिय रहेको एवं विद्यमान अवस्थालाई ध्यानमा राख्दै यो शिखर सम्मेलनको आयोजना गरेकोमा नेपाल चिकित्सक संघ, सम्मेलन आयोजक समितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर