कमिसन नदिएको भन्दै मेयरले अधिकृत कुट्न लगाए ! – Nepal Press

कमिसन नदिएको भन्दै मेयरले अधिकृत कुट्न लगाए !

जनकपुरधाम । कमिसन नपाएपछि धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले दुई सहयोगी लगाएर आफूलाई कुटेको बालि विकास अधिकृत चन्देश्वर ठाकुरले बताएका छन् । शुक्रबार दिउँसो कार्यालयमै मेयर दासले आफूमाथि कुटपिट गर्न लगाएको उनको आरोप छ ।

पेश्की फछ्र्योट गरिदिन आग्रह गरेलगत्तै नगर प्रमुख दासले आफूलाई धक्का दिएको पीडित अधिकृत ठाकुरले बताए ।

‘नगर प्रमुखले धक्का दिएर गाली गर्न थाल्नुभो,’ उनले भने, ‘त्यसैबीच शत्रुधन राय र अंगद रायले मलाई कुट्न थाले ।’

कात्तिकमा रिटायर्ड हुने भएकाले तीन वर्ष अगाडिको ११ लाख पेश्की फछ्र्योट गर्न आग्रह गर्न पुगेको तर नगर प्रमुख दासले कुट्न लगाएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मुङ दालको विउ वितरण, बोरिङ जडान, दमकल वितरण, गोठ निर्माण, तालिम र पशु स्वास्थ्य शिविर लगायतका कार्यक्रम नगरपालिकामा लागू भएको छ । उक्त परियोजना अन्तर्गत ४७ लाखको बजेट थियो ।

अधिकृत ठाकुर भन्छन्, ‘सबै कार्यक्रम नगर प्रमुख दासकै अगुवाइमा भएको छ । सामान खरिद पनि उहाँकै समन्वयमा भयो । तर अहिले १२ लाख कमिसन माग्नुहुन्छ । पैसा नै बचेको छैन, कमिसन कहाँबाट दिने ?’

आफूमाथि कुटपिट भएको घटनाबारे धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटलाई जानकारी गराएको उनले बताए । उनले भने, ‘एसपी साहेबले जाहेरी लिएर आउनु भन्नुभएको छ ।’

कुटपिट गरेका अंगद, शत्रुधन, नगर प्रमुख दास र कार्यकारी अधिकृत सञ्जिव कुमार साहमाथि प्रहरीमा किटानी जाहेरी दिने तयारी ठाकुरले गरेका छन् । मेयर र कार्यकारी अधिकृतकै निर्देशनमा कुटपिट गरेकाले उनीहरुमाथि पनि उजुरी दिने उनको भनाई छ ।

यता, नगर प्रमुख साहले कर्मचारी ठाकुरको आरोपमा सत्यता नरहेको दावी गरे । उनले आफूले दमकल उधारो दिलाएको रकम अहिलेको नतिरेको र पाउनुपर्ने किसानले अहिलेसम्म दमकल नपाएकाले विवाद मात्र भएको बताए । उनले भने, ‘कुटेको भए सिसी क्यामेरामा कैद भएको होला । यहाँ आएर हेर्न सक्नुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर