इपीएलका लागि त्रिवि मैदान तयार, यसपाली दर्शक रुख चढ्न नपर्ने (तस्बिरहरु) – Nepal Press

इपीएलका लागि त्रिवि मैदान तयार, यसपाली दर्शक रुख चढ्न नपर्ने (तस्बिरहरु)

काठमाडौं । नेपालको सबैभन्दा चर्चित घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण भोलीदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । विश्वस्तरीय खेलाडीहरुको समेत उपस्थित रहने प्रतियोगिताका लागि त्रिवि मैदानको तयारी लगभग सकिएको छ ।

डेढ वर्षअघि नै हुनेपर्ने चौथो संस्करणको इपीएल कोरोनाका कारण पछि धकेलिएको थियो । कोरोनाले खेलकुद गतिविधि सुस्ताएको बेला इपीएलले माहोल तताउने अपेक्षा गरिएको छ । त्रिवि मैदानमा दर्शकको पूर्ण क्षमतामा प्रतियोगिता आयोजना गर्न आयोजकलाई अनुमति दिइएको छ ।

यसअघि नेपालमा गत वैशाखमा त्रिदेशीय टि-२० क्रिकेट आयोजना भएको थियो । त्यसमा दुईवटा म्याच दर्शकसहित भए पनि त्यसपछि उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बाँकी म्याचमा दर्शक प्रवेश गराउन अनुमति दिइएन । मैदान पस्न नपाएका दर्शकले वरिपरीका रुखमा झुण्डिएर खेल हेरेका थिए । यसपाली भने त्यो वाध्यता नपर्ने भएको छ ।

६ फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगितामा भाग लिन विश्व चर्चित विदेशी खेलाडीहरु नेपाल आइसकेका छन् । सबै फ्रेन्चाइज टोलीले ४/४ जना विदेशी खेलाडीलाई समावेश गरेका छन् ।

वैशाखमा आयोजना भएको त्रि-देशीय सिरिजपछि त्रिवि मैदानमा कुनै प्रतियोगिता आयोजना भएको छैन । अहिले स्वास्थ्यका सबै मापदण्ड पुरा गरी दर्शकलाई मैदान प्रवेशमा अनुमति दिइएको छ । दर्शकले प्रभु पेमार्फत टिकट बुकिङ गर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँको टिकट राखिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भोली हुने उद्घाटन खेलमा सबिक विजेता ललितपुर प्याट्रिओटस र काठमाडौं किङ्स-११ भिड्नेछन् । खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर