सूचना नदिएपछि सबैला नगरपालिकाको गेटमा पाँच दिनदेखि अनसन – Nepal Press
सूचना नपाएसम्म अनसन जारी रहने

सूचना नदिएपछि सबैला नगरपालिकाको गेटमा पाँच दिनदेखि अनसन

जनकपुरधाम । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि धनुषाको सबैला नगरपालिकामा भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारीहरु अनसन बसेका छन् ।

नगरपालिकाको मुख्यद्धारमै समितिका सात सदस्य पाँच दिनदेखि रिले अनसन बसेका हुन् । पटक–पटक सूचना माग गर्दा पनि मेयर विजय शंकर साह र कर्मचारीले बेवास्ता गरेपछि बाध्य भएर धर्ना बसेको समितिका संयोजक सुरेश यादवले बताए ।

गत जेठ २३ मा समितिले ९ वटा शीर्षकमा सूचना उपलब्ध गराइदिनका लागि नगरपालिकामा निवेदन दर्ता गराएको थियो । तर हालसम्म एउटै शीर्षकमा सूचना उपलब्ध नगराएको समितिका संयोजक यादवले बताए । उनले भने, ‘भ्रष्टाचार लुकाउन सूचना दिन नमानेको हाम्रो शंका छ ।’

चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड–१९ रोकथाम तथा क्वारेन्टाईन सञ्चालन सहितको खर्च लगायतका विवरण नगरपालिकासँग माग गरेको समिति संयोजक यादवले जानकारी दिए ।

नगरपालिकाले विभिन्न शीर्षकमा गरेको अनियमितताको छानबिन गर्न समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराएको छ । तर अख्तियारले पनि छानबिन अगाडि बढाएको छैन ।

समिति संयोजक यादवले अख्तियारले नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा तत्कालै छानबिन अगाडि बढाओस् भन्ने मागसमेत गरे । माग पूरा नभएसम्म अनसन जारी राख्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर