जापानमा लकडाउन कानूनबारे वहस शुरु, प्रधानमन्त्रीका २ दाबेदार कानून बनाउने पक्षमा – Nepal Press

जापानमा लकडाउन कानूनबारे वहस शुरु, प्रधानमन्त्रीका २ दाबेदार कानून बनाउने पक्षमा

कोरोना संक्रमणको फैलावटलाई रोक्न विधेयक र अध्यादेशमार्फत आपतकाल घोषणा गरेको जापानमा लकडाउन वा नाका बन्द गर्न सकिने कानून ल्याउनेबारे बहस सुरु भएको छ ।

स्पष्ट कानूनको अभावले गर्दा कोरोना नियन्त्रणका लागि कठोर कदम चाल्न नपाएपछि जापानमा लकडाउन र सीमा बन्द गर्न सकिने गरी कानून निर्माण गर्नुपर्ने बहस सतहमा आएको हो ।

जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको आसन्न निर्वाचनलाइ मध्यनजर गर्दै उमेद्वारहरुसँगको खुल्ला बहसमा वर्तमान क्याबिनेट मन्त्री कोउनो तारोउ, पूर्व आन्तरिक मामिला तथा सञ्चार मन्त्री सानाए ताखाइचीले लकडाउनका लागि नयाँ कानून बनाउनुपर्ने बताएका हुन् । २९ तारिख हुन गइरहेको पार्टीको निर्वाचनमा उनीहरु नेतृत्वका दाबेदार हुन् ।

‘विपक्षीसँग पनि छलफल गरी लकडाउन गर्न सक्ने कानून बनाउन पर्छ भन्ने सोचिरहेको छु,’ कार्यक्रममा कोउनो तारोउले भने, ‘यसअघिका हाम्रा अनुभबले यस्ता कठिनाइहरुलाई सम्बोधन गर्न कानून निर्माण गर्नुपर्ने आवश्यकता देखाउँछ ।’

त्यस्तै सानाए ताखाइचीले पनि कोरोना नियन्त्रण मात्रै नभएर भविश्यमा आइपर्ने कुराहरुलाई समेत मध्यनजर गर्दै यस्ता कानून बनाउन ढिला गर्न नहुने बताइन । ‘संक्रामक रोगहरुको नियन्त्रणका लागि आवश्यक पर्ने कदम चाल्न बिद्यमान कानूनी अड्चनहरुलाई फुकाउन जरुरी छ,’ उनले भनिन्, ‘आपतकालीन अबस्थामा छलफल र बहस गरेर अध्यादेश या विधेयकहरु ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ’ु

कार्यक्रममा नेतृत्वका अर्का प्रत्यासी किशिदाले भने लकडाउन जस्ता कुराहरु जापानका लागि उपयुक्त नहुने तर्क गरे । जापानमा अहिले लगाइएको आपतकाल संसदबाट पारित गरेर कार्यान्वनमा ल्याइएको हो । विशेष परिस्थितमा विशेष कदम चल्न कानूनको अभाब भएको भन्दै विशेष परिस्थितिलाई मध्यनजर गरी नयाँ कानूनका लागि बहस सुरु भएको हो ।

यहि २९ तारिखको निर्वाचनले सत्तारुढ दलको नेतृत्व चयन गरेपछि अक्टोबर ४ तारिख संसदको विशेष अधिबेशनबाट नया प्रधानमन्त्री चयन गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर