दोहन नरोकिए झनपछि झन् जोखिमको खतरा – Nepal Press
क्षतविक्षत चुरेले निम्याएको विपद्

दोहन नरोकिए झनपछि झन् जोखिमको खतरा

रुपन्देही । रुपन्देहीको उत्तरी सीमामा रहेका चुरे पहाड छियाछिया बनेका छन् । अनियन्त्रित बाटो विस्तार तथा बस्ती बिस्तार र अनियन्त्रित जंगल फडानीले चुरे पहाड क्षतविक्षत बनेको छ ।

जसकारण चुरे क्षेत्रमा घुसेका तराईका अधिकांश बस्ती पछिल्लो केही समययता जोखिममा परेका छन् । बुटवलका मात्रै होइन, चुरे र तराईको संगममा लहरै बसेका बस्तीहरु बर्सेनि प्राकृतिक प्रकोपको मारमा परेका छन् । झन्पछि झन् जोखिम बढ्दो छ ।

बुटवलको ज्योतिनगरमा २३ वर्ष अगाडि आएको पहिरोले ठूलो क्षति गरेको थियो । बुटवल बहुमुखी क्याम्पस पछाडिका धेरै घरहरुमा क्षति पुगेको थियो त्यो बेला । ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा २०५५ सालमा चुरेको पहिरोले ५७ घर पुरेको थियो, अहिले पुनः सो क्षेत्रमा उस्तै समस्या आइलाग्यो ।

२३ वर्षअघि पहिरोको क्षतिमा परेका परिवारलाई सरकारले तामनगरमा लगेर व्यवस्था गरेको थियो । तर केही समयपछि मानिसमा फेरि लोभ पलायो । विस्तारै पुराना घटना बिर्सदै गए ।

तत्कालीन अवस्थामा क्षतविक्षत भएका घरहरु रहेको स्थानमा क्रमिकरुपमले नयाँ घरहरु बन्दै गए । चुरेको भित्तोसम्मै बस्ती बस्दै गयो । साढे दुई दशकपछि त्यही ठाउँमा पुनः पहिरोले क्षति पुर्यायो । अनि सबैले भने– सरकारले केही गरेन, पहिरो रोक्न सकेन, पीडितलाई राहत र उद्दार दिन र गर्न सकेन ।

‘जोखिमयुक्त बस्तीमा लोभका कारण जाने नागरिक र उनीहरुको व्यवस्थापनका लागि बाटो, पानी, बिजुली व्यवस्थापनका लागि सरकारलाई दवाव दिने टोल समिति, स्थानीय दलीय संयन्त्र यसका भागिदार हुन्’, स्थानीय छवि पन्थी भन्छन्, ‘उनीहरुले गरेको भोटको राजनीतिले जोखिम थप बढाएको छ ।’

यो ज्योतिनगरको मात्र समस्या होइन, तिनाउ नदी उकास क्षेत्रमा पनि उस्तै समस्या छ । अहिले बुटवलको ज्योतिनगरमा आएको पहिरोले ५२ घर उच्च जोखिममा छन् । भदौ १३ र १४ मा आएको पहिरोले १० घरमा बढी क्षति पुर्यायो भने ६० भन्दा बढी घरमा पहिरोको लेदो पसेको छ । त्यो क्षेत्रका सबै नागरिक त्रासमा छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष टंक पराजुलीका अनुसार चुरे पहाडबाट लेदोसहितको पहिरोले ज्योतिनगर बस्ती नै जोखिममा छ । पहिरोपछि १२ घरपरिवार बिस्थापित भइसकेका छन् अरु केही उच्च जोखिममा छन् ।

‘वनमा मानवीय अतिक्रमण, डढेलो, बस्तीविकास, विकासका नाममा चुरेमा मनपरी गर्दा चुरे खलबलियो र बग्न थाल्यो । आफ्नै सुखसुविस्ताका लागि प्रकृतिमाथि मनपरी गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ’, वातावरणविद् अधिवक्ता युवाराज कंडेल भन्छन्, ‘बुटवलको सिरानमा रहेको चुरेमा मात्रै हैन, देशभरकै चुरेमा अतिक्रमण बढ्दो छ । नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको कमजोर र पत्रे चट्टानले बनेको भूभागमाथिको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित पारिररहेको छ ।’

वर्षेनी ३० मिटरका दरले भूस्खलन

२०५३ सालमा गरिएको एक अध्ययनले बुटवल आसपासका चुरे पहाडबाट प्रतिवर्ष ३० मिटरका दरले भूस्खलन हुँदै गइरहेको निचोड निकालेको थियो । सो अध्ययनले बुटवलनजिक टेक्नोलिक प्लेट रहेको र सो क्षेत्र प्राकृतिक भूक्षय, भूविचलन र भूकम्पको निम्ति खतरनाक हुने भनेको थियो ।

२०५५ सालको पहिरोपछि जापान सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनैपनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो ।

त्यसको केही वर्ष जोखिमको पूर्वतयारी गरेपनि पछिल्लो दशकमा चुरे पहाडमा पुनः अतिक्रमण र मनपरी भयो । २०७२ को भूकम्पले पहाड झन् खलबलायो र यसको जोखिम बढायो ।

‘प्रकृतिलाई अतिक्रमण गरेर एकछिन आनन्द लिन, एकछिन फाइदा लिन त सकिएला तर कुनैदिन यसले गम्भीर असर पार्नेछ, त्यो भवितव्यबाट जोखिन विज्ञहरुले दिएको सुझावअनुसार अगाडि बढौं’, स्थानीय कमल गौतम भन्छन् ।

जर्जर छ चुरेको अवस्था

करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड शृङ्खला हो चुरे । ‘पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे शृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ’, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले वेबसाइटमा राखेको जानकारीमा भनिएको छ ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भइ तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । देशभरका ३७ जिल्लाका चुरे नजिकका बस्ती जोखिममा छन् ।

विभिन्न समयमा भएका अध्ययनहरुले चुरे पहाडमा टाँसिएका बस्ती स्थानान्तरणको उपाय सुझाएका छन् ।

२०६७ सालमा संसदको प्राकृतिक स्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनले चुरेमा मानवबस्ती बढ्दै गएर मानवीय चाप परेकाले बस्ती स्थानान्तरणको विकल्प उपयुक्त हुने निचोड निकालेको थियो ।

संघीय तथा प्रदेशका विभिन्न संसदीय समितिहरुले धेरैपटक स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेका छन् । चुरेको अतिक्रमण, अवस्था, क्षति, ह्रासलगायतका सबै क्षेत्रको अवलोकन गरेर तयार भएका ती प्रतिवेदनले चुरेमाथि भइरहेको अतिक्रमण रोक्न र नरोकिए चुरेभन्दा दक्षिणको बस्ती जोखिममा पर्ने चेतावनी दिएका छन् ।

अध्ययन प्रतिवेदनले भनेका छन्, ‘चुरे यस्तो जोखिमपूर्ण क्षेत्र हो, जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले दशकौंसम्म त्यहाँको जमीन अस्थिर बनाउँछ, जसको प्रत्यक्ष असर मानव जीवनशैलीमा पर्छ ।’

यस्तो छ विज्ञको सुझाव

बुटवलका ३ र ४ नम्बर वडाको पहाडी भेग उच्च जोखिममा छ । ‘उच्च जोखिम रहेको क्षेत्रमा भएको अतिक्रमणले जोखिम अरु बढायो र विनास निम्त्याइएको छ’, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की भन्छन् ।

उनका अनुसार चुरेको तल्लो भाग प्राकृतिकरुपमा कच्चा पहाड भएकाले यसको नजिक बस्ती बसाउन नहुने बताउँछन् । ‘यो प्राकृतिक रुपमा कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको छ, ती धाँजाहरुमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो’, कार्की भन्छन् ।

मानवीय अतिक्रमणका कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको भूगोलविद् डा.भोजराज कडेरिया बताउँछन् । ‘चुरे एकदमै कमजोर पहाड हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ नै, यहाँ भएको त्यही हो’, उनी भन्छन्, ‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो, त्यसमाथि भूकम्पले अरु कमजोर बनाएको थियो, त्यसमा अतिक्रमण भयो, अतिक्रमण भएको ठाउँमा पानीले खोल्दै गयो र लेदोसहितको पहिरो गयो ।’

चुरे कमजोर बनाउने कुनै पनि गतिविधिहरु स्थानीय सरकारले रोक लगाए पनि स्थानीयले लुकिछिपी यसलाई प्रयोग गरिरहेकै हुन्छन् । यससँगै जलवायु परिवर्तन, लुकिछिपी हुने मानवीय लापरबाही र प्राकृतिक कारणले चुरे क्षेत्र कमजोर बनिरहेको र बुटवलको लागि समृद्धि र समस्या दुवैको स्रोतका रुपमा चुरे नै रहेको जानकारहरुको विश्लेषण छ ।

चुरेको हरियाली र पानीका प्राकृतिक स्रोतले बुटवलको समृद्धिमा योगदान गरेको छ भने सतह क्रमशः कमजोर बन्दै जानु समस्या र चुनौतिका रुपमा बढिरहेको छ । मानवीय लापरबाही र प्रकृतिक कारणले पनि चुरेको नजिकका बस्ती विपत्तिको जोखिममा रहेको तर बुटवलको एक छेउमा समस्या पर्दा सिंगो बुटवल नै खतरामा रहेको सन्देश दिन नहुने प्राध्यापक वसन्तराज खनाल बताउँछन् ।

चुरेको पहिरोले बुटवलका लक्ष्मीनगर, चाँदवारी, ज्योतिनगर, पारि बुटवल, जितगढी, बेलबास क्षेत्रमा चुरेको फेदमा रहेका बस्तीहरु उच्च जोखिममा पारेको छ ।

रोकिएन लापरबाही

पानीको स्वभाविक प्रवाहलाई रोक्ने, छेक्ने, अन्तै तर्काउन खोज्ने मानवीय लापरबाही रोकिएको छैन । कमजोर बनिरहेको चुरेमा सानो पानी परेपनि पहिरो बग्ने अवस्था सिर्जना भएको छ ।

चुरेबाट बग्ने खोल्साहरु पहिलेदेखि नै अतिक्रमणमा परेका छन् । ‘जोखिमका बस्तीहरुलाई सुरक्षित पार्ने, स्थानान्तरण गर्ने र क्षतिको न्यूनीकरणका लागि उपमहानगरको मात्रै एक्लो प्रयास सम्भव छैन । यसका लागि तीनै तहका सरकारको साझा पहलको खाँचो छ’, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।

बस्ती अन्यत्र सार्नका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसँग समन्वय गरेर काम अघि बढाउने सुवेदी बताउँछन् । उनी भन्छन्, ‘ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र जोखिममा देखिएको छ, अहिले तत्कालको समस्या समाधान गर्छौं र अहिलेको समस्या समाधान भएपछि समितिसँग छलफल गरेर के गर्नुपर्ने हो, त्यसतर्फ लाग्छौं ।’

प्रदेश सरकार बनेपछि चुरेको संरक्षण र भूक्षयको जोखिम न्यूनीकरणका लागि सहयोग गर्न भन्दै बुटवल उपमहानगरले तीन वर्षअघि नै मुख्यमन्त्रीलाई पत्राचार गरेको प्रमुख सुवेदीले बताए । चुरेको जोखिम क्षेत्र, पहिले पहिरो गएको क्षेत्र र अहिले बढिरहेको जोखिमसमेतको विस्तृत रिपोर्ट बनाएर उपमहानगरले प्रदेश सरकारमा दिएको सुवेदीको भनाइ छ ।

चुरेमा गएको पहिरो रोकथामका लागि उपमहानगर, प्रदेश सरकार, संघीय सरकार मातहतका विभिन्न कार्यक्रम पनि सञ्चालित थिए । गतवर्ष भएका यी सबै प्रयास अहिले निस्प्रभावी बनेका छन् ।

चुरेको भूबनोट नै कमजोर हुने भएकाले दीर्घकालीन रुपमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बसोबासको लागि उपयुक्त नदेखिएको विज्ञहरुको निक्र्यौल छ ।

प्राकृतिक विपत्तिमा बुटवलको पीडा

जानकारहरुका अनुसार २०२७ सालमा चुरे खसेर तिनाउ थुनिएर बनेको ताल फुट्दा तिनाउमा बाढी आएर तत्कालीन दाउरे टोल र तिनाउ छेउछाउका ९२ जना मानिसहरु बगेका थिए ।

२०३२ सालको बाढीले मैनाबगर बगाएको थियो भने २०३७ सालमा सहश्र धारा नजिक चुरेमा आएको पहिरोले निर्माणाधीन पक्की पुललाई मात्र भत्काएन, पारि बुटवलको भविश्य नै ओझेलमा पारेको थियो । त्यहि पहिरोको कारणले बनेको ताल फुट्दा ४१ जना मानिस र १२० घरहरु बगेका थिए ।

चुरे पहिरोको सबैभन्दा ठूलो क्षति बुटवलले २०५५ भदौ १९ र २० गते ब्यहोरेको थियो । बुटवल ज्योतिनगर क्षेत्रमा पहिरो खसेर कैयौं घर बगाएको थियो । संयोग, त्यतिबेला मानवीय क्षतिका रुपमा एकजनाको ज्यान गएको थियो । झण्डै २०० मिटर माथिबाट पहिरो झर्दा १०१ वटा घर र १९ वटा घडेरी पुरिएका थिए ।

चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन् । त्यसको कारण अत्यधिक वर्षा हो । चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सन् १९८३ देखि २०१३ सम्म देशका ६ वटा केन्द्रमा गरेको अध्ययनअनुसार अत्याधिक वर्षाले चुरेमा भूस्खलनलाई बढाएको छ । जसमध्ये रुपन्देहीको बुटवललाई केन्द्र मानेर गरिएको अध्ययनले बुटवल दोस्रो बढी जोखिमपूर्ण स्थानमा देखिन्छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले तयार गरेको विवरणले बुटवल क्षेत्रमा एक वर्षमा प्रति २४ घण्टा ३० मिलिमिटर परिमाणभन्दा बढी २ पटक, २५० देखि ३०० मिलिमिटरसम्म २ पटक, १३० देखि २५० मिलिमिटरसम्म ४४ पटक, १०० देखि १३० मिलिमिटरसम्म ५५ पटक वर्षाका घटना रेकर्ड भएको देखाउँछ । वर्षाको यो क्रम भने बढ्दै गएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर