कर्णालीका हिमाली जिल्लामा दशैंमा खाद्यान्न अभाव हुँदै, ढुवानीको छैन सुरसार – Nepal Press

कर्णालीका हिमाली जिल्लामा दशैंमा खाद्यान्न अभाव हुँदै, ढुवानीको छैन सुरसार

सुर्खेत । नेपालीको प्रमुख चाड दशैं नजिकिँदै छ । चाडपर्वमा मिठो मसिनो खाने परम्परा लामो समयदेखि रहिआएको छ । यस वर्ष समयमै खाद्यान्न ढुवानी नहुँदा कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकले पनि प्रमुख चाडको मुखैमा खाद्यान्न अभाव झेल्नुपर्ने देखिएको छ ।

दशैं आउन लाग्दा कर्णालीका हिमाली जिल्लामा चामलको स्टक सकिन लागेको छ । सुर्खेत गोदामबाट ढुवानी प्रक्रिया पूरा नहुँदा ‘सुर्खेतमा चामलको खातै खात, हिमालका नागरिकलाई पुर्पुरोमा हा’ भनेजस्तो हुन लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतको गोदाममा करिब १३ हजार क्वीन्टल चामल मौज्दात छ । तर, हुम्ला, डोल्पा र मुगुका खाद्य डिपोहरुमा पर्याप्त चामल छैन । भएको चामल पनि सदरमुकामका कार्यालयमा छन् । कम्पनीका अनुसार हाल हुम्लामा ३ हजार २ सय क्वीन्टल, मुगुमा ५ सय ५० क्वीन्टल र डोल्पामा ३ सय ६४ क्वीन्टल चामल मौज्दात छ ।

ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यी जिल्लाहरुमा दशैँअघि चाम नपुग्ने निश्चित जस्तै भएको छ । ‘ढुवानीका लागि कम्पनीले ठेक्का प्रक्रिया गरेर लगभग टुंगिएको छ’ खाद्य व्यवस्था तथा व्यपार कम्पनी सुर्खेतका सूचना अधिकारी वासुदेव रिजाल भन्छन्, ‘अहिलेसम्म कुनै पनि कम्पनीसँग सम्झौता नभएकाले दशैँ अघि जिल्लाहरुमा पुर्‍याउन त लगभग असम्भव छ ।’

चामल विक्रीमा रोक लगाइयो

गुणस्तरहीन चामल पठाइएको समाचार सार्वजनिक भएपछि सुर्खेत गोदाममा रहेको १ हजार ९९० क्वीन्टल चामल अर्को निर्देशन नभएसम्मका लागि विक्रीमा रोक लगाइएको छ । कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना सार्वजनिक भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल विक्री वितरण गर्न रोक लगाएको हो ।

साउनयता काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरिसकेको र बाँकी १९ सय ७५ क्विन्टल चामल गोदाममै रहेको कार्यालयले जनाएको छ ।

‘कुहिएको चामल सुर्खेत पाठाइएको भन्ने सूचना पाएपछि हामीले खाद्य डिपोको अनुगम गरेका छौँ’ गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख भेषबहादुर थापाले भने, ‘अनुगमका क्रममा साधारणतया त्यस्तो त देखिएको छैन त्यही पनि हाम्रो विभागलाई वास्तविकता बुझ्नका लागि पत्रचार गरेको छु । हामीले चार–पाँच प्याक चामल स्याम्पलिङ गरेर हेर्दा ढुसी परेको, सडेको चाहिँ पाएनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *